९ लाख ६० हजारले पाए रिलायबल लाइफको १० कित्ता सेयर, कसरी हेर्ने रिजल्ट ?
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको आईपीओको बुधबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ९ लाख ६० हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार उक्त आईपीओमा कुल १३ लाख ६४ हजार ३५३ जना आवदेकले आवेदन दिएका थिए । उक्त आईपीओमा कुल एक करोड ६० लाख ५४ हजार १६० कित्ता बराबर एक अर्ब ६० करोड ५४ हजार १६० रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये एक करोड ५९ लाख ३० हजार १० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको छ । बाँकी १७ हजार ६८० कित्ता सेयरको आवेदन रद्द भएको छ । इन्स्योरेन्सले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरेको थियो । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका थिए । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाएका थिए । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यसरी हेर्न सकिन्छ रिजल्ट उक्त आईपीओको रिजल्ट सिभिल क्यापिटल मार्केटको वेवसाइट र सिडिएससिको वेवसाइट आईपीओ रिजल्ड सिडिएससीबाट हेर्न सकिने छ ।
हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड बिहीबारदेखि बिक्री खुला हुने
काठमाडौं । हिमालयन क्यापिटलले भोलि बिहीबार (साउन ३२ गते)देखि पहिलो म्युचुअल फण्ड ल्याउने भएको छ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलले ‘हिमालयन ८०–२०’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ ।
९ प्रतिशत ब्याज पाइने नेपाल एसबिआई बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आज साउन ३१ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।