काठमाडौं । उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले आन्तरिक क्षेत्रलाई थप चलायमान बनाउने गरी मौद्रिक नीति आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् ।
बाह्य क्षेत्र मजबुत हुँदै गईरहेको परिपेक्षमा आन्तरिक क्षेत्रलाई थप चलयमान बनाउने गरी मौद्रिक नीति आएको छ, सामाजिक सञ्जालमार्फत प्रतिकृया दिँदै उनले भने ।
साथै, उनले विस्तारै मनोबाल बढ्ने र अर्थतन्त्र तंग्रिने समेत बताएका छन् ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा लचिलो ल्याएकोभन्दै उनले सो बताएका हुन् । राष्ट्र बैंकले उक्त समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जामा लाग्ने जोखिम भार १२५ प्रतिशतमा झारेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार पनि १२५ प्रतिशतमा झारिएको छ । जुन यसअघि १५० प्रतिशत थियो ।
त्यस्तै, राष्ट्र बैंकले ब्याजदर घट्ने गरी नीतिगत दरहरुलाई घटाएको छ । यसले पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरु बताउँछन् ।