साहारा विकास बैंकको २३ हजार ६०५ कित्ता सेयर लीलामीमा

काठमाडौं, २८ मंसिर । साहारा विकास बैंकले २३ हजार ६ सय ५ कित्ता सेयर लीलामी गर्ने भएको छ ।  बैंकले मंगलबार सुचना प्रकाशित गर्दै हकप्रदबाट नबिकेको १७ हजार ७ सय संस्थापक सेयर र ५ हजार ९ सय ५ कित्ता साधारण सेयरहरु बिक्री गर्न लागेको जनाएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । सो सेयर खरिद गर्नका लागि इच्छुक कम्पनी तथा व्यक्तिहरुले पुस १४ देखि २१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । सर्लाही जिल्लामा प्रधान कार्यलय रहेको बैंकले गत असोज १४ गतेदेखि कात्तिक १८ गतेसम्म एक सय पचास प्रतिशत हकप्रद बिक्रि गरेको थियो । बैंक २५ करोड ७८ लाख चुक्तापूँजी रहेको छ ।

आइतबार स्थगित गरिएको नेसनल हाइड्रोको साधारणसभा अब पुस १३ गते हुने

काठमाडौं, २७ मंसिर । नेसनल हाइड्रोपावरको वार्षिक साधारणसभा अब पुस १३ गते हुने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले सो दिनको लागि साधारणसभा बोलाएको छ । यस अघि कम्पनीले आइतबार साधारणसभा बोलाएको थियो तर आवश्यक कोरम नपुगेको कारणले स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधानका कारण आइतबार सभा स्थगित गरिएको थियो । अब पुस १३ गते बोलाइएको सभामा भने २५ प्रतिशत सेयरहोल्डर उपस्थित भए पनि साधारणसभा गर्न कोरम पुग्ने कम्पनीले जनाइएको छ ।

पुर्णिमा विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, २७ । पुर्णिमा विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्रामा हकप्रद निष्कासन हुने छ । बैंकले आगामी पुस २३ गते ९औँ वार्षिक साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी ३० करोड २५ लाख रुपैयाँ रहेको छ । बजारमा बैंकको प्रतिकित्ता सेयर ४४० रुपैयाँमा किनबेच भइरहेको छ ।