छ्याङ्दी हाइड्रो पावरको ५ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन, ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो जलविद्युत् कम्पनीको प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित उक्त सेयरको १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । १३ हजार पाँच सय कित्ता बाहेक ५ लाख २६ हजार ५ सय कित्ताभने सर्वसाधारणको लागि निष्कासन गरेको छ । यसको सेयर आवेदन दिन कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म पाइने उल्लेख छ । यो कम्पनीको सेयर आवेदन आगामी जेठ १४ गतेबाट विक्री खुला हुने भएको छ । सेयरको आवेदन बन्द छिटोमा जेठ १८ गते र ढिलोमा २८ गतेसम्म पुग्ने पनि छ्याङ्दीले जानकारी दिएको छ । यो कम्पनीको सेयर आवेदन गर्न ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।

एकैदिन दुई कम्पनीले पाए हकप्रद सेयर निष्काशन गर्न अनुमति, क-कसले पाए?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन दुई कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ ४ गते पुर्णिमा विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । पुर्णिमा विकास बैंकले २५ प्रतिशत(४ः१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बोर्डको अनुमति अनुसार कम्पनीले ८ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ८ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकले ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ३ करोड ४९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर बजारमा ६१ करोड माथिको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा ६१ करोड ९८ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिनको बजारमा ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । बजारमा यस कम्पनीको १० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर प्रतिकित्ता १६३८ रुपैयाँ रहेको छ । त्यस्तै, एनसीसी बैंक र सिद्धार्थ बैंकको ३ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बजारमा १४० कम्पनीको ३१ लाख ६४ हजार ९६६ कित्ता सेयर किनबेच भएको छ । सो दिन कारोबार भएका तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक ३२, होटल ४.७७ र अन्य समूह ४.०५ अंकले उकालो लागेका हुन् । त्यस्तै, सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २० अंकले ओरालो लागेको छ । बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका हुन् । समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक ४ दशमलब ९८ अंकले ओरालो लागेर १६४४ दशमलब २६ अंकमा झरेको छ ।