सेयर बजारमा ६५ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं, १० मंसिर । यो साता सेयर बजारमा नेप्से परिसूचक ६५ दशमलब ५९ अंकले घटेको छ । लगातार घटिरहेको बजारमा परिसूचक अन्तिम दिन १५३४ दशमलब ३ अंकमा आएर रोकिएको छ । यो साताभर बजारमा ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा ३१ हजार ३३६ कारोबारबाट ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । गत साताको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता जम्मा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ । साताभर सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समूहको १०५, विकास बैंकको ९९ र जलविद्युत समूहको ७० अंकले ओरालो लागेका छन् । वाणिज्य बैंक, उत्पादनमूलक, अन्य र व्यापार समूहको परिसूचक क्रमशः ४९, १३, १० र एक अंकले परिसूचक घटेका छन् । यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ७१ करोड १५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पाँचै दिन खुलेको सेयर बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
बुटवल पावरले ४० लाख कित्ता एफपीओ जारी गर्दै, एफपीओको रकम कावेली र न्यादी आयोजनामा लगानी गरिने
काठमाडौं, १० मंसिर । बुटवल पावर कम्पनी (बीपीसी) ले थप सार्वजनिक सेयर निष्कासन(एफपीओ) जारी गर्नका लागि बिक्रि प्रबन्धकको रुपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । विहिबार बिपीसी र एनएमवी म्यापिटलविच एफ्पीओ जारी गर्ने सम्बन्धमा सम्झौता भयो । बीपीसीले ४० लाख ८१ हजार कित्ता मध्ये २ लाख ४ हजार ५० कित्ता स्थानीबासिन्दाको लागि र बाँकी सर्वसाधरणको लागि एफपीओ जारी गर्ने भएको हो । सम्झौतामा बुटवल पावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सह निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट राखिएको छ । एफ्पीओ साधारण सेयरको अंकित मूल्य १०० मा मूल्याङ्कनबाट आएको प्रिमियम थप गरी प्रति सेयर हुन आउने मूल्यमा जारी गरिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन गरिएको शेयर पूर्ण रुपमा बिक्री नभई बाँकी रहन गएमा सो सेयर समेत सर्वसाधारणकालागि निष्काशन गरिने कम्पनीले जनाएको छ । एफ्पीओबाट प्राप्त भएको रकम कम्पनीले ३७.६ मेगावाट क्षमताको कावेली ए जलविद्युत आयोजना तथा ३० मेगावाटको न्यादी जलबिद्युत आयोजना निर्माणका लागि लगानी गर्ने छ । कावेली ए जलविद्युत आयोजनाको निर्माण कम्पनी काबेली इनर्जी लिमिटेडमा बीपीसीको ५४ प्रतिशत र न्यादी जलविद्यूत आयोजना बनाउने कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ । ती दुबै आयोजनाहरुको वित्तीय व्यवस्थापन एवं पीपीए सम्पन्न भैसकेका छन् भने २०७३ साल पौष महिना भित्रै निर्माण कार्य शुरु गर्ने योजना रहेको छ ।
५६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एनबी इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, ९ मंसिर । बिहीबार मात्र करिब ५६ लाख ७६ हजार ४०१ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २० लाख ३९ हजार ५६७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार ५७० दशमलब ५३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यी दुबै बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । त्यसैगरि रिलायन्स डेभलपमेन्ट बैंकको ७ लाख ५ हजार ७१४ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको २ लाख ८८ हजार ९ सय कित्ता र भक्तपूर फाइनान्सले २ लाख ४२ हजार ६५० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस तिनवटै कम्पनीको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ । त्यस्तै विहीबार नै एनबी इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले यसै साल निष्काशन गरेकाे हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।