सोमबार मात्रै कञ्चनको तीन लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, कसमसको हकप्रद नेप्सेमा सूचिकृत

काठमाडौं, १३ मंसिर । सोमबार कञ्चन डेभलपमेन्ट बैंकको मात्र करिब ३ लाख ७६ हजार १७६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । त्यस्तै सोमबार नै कसमस डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भएको छ ।

सगरमाथा फाइनान्सले ८० प्रतिशत हकप्रद निष्कासन गर्ने, मंसिर २४ गते बुक क्लोज

काठमाडौं, १३ मंसिर । सगरमाथा फाइनान्सले ८० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हालसालै बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको गरेको हो । हाल फाइनान्सको चुक्ता पुँजी ३६ करोड ९२ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ हुनेछ । बैंकले उक्त हकप्रद निष्काशनको लागि आगामी मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ ।

सेयर बजारमा दोस्रो पटक पनि सर्किट ब्रेकर, १४०७ मा आइपुग्यो नेप्से

काठमाडौं, १३ मंसिर । कारोबार सुरु भएको पौने दुई घण्टा भित्र सोमबार सेयर बजार दुई पटक सर्किट ब्रेकर लाग्यो । सेयर बजार अस्वभाविक रुपमा घटेपछि आइतबार एक पटक मात्र सर्किट ब्रेकर लागेकोमा सोमबार दुई पटक लागिसकेको छ । दुईपटक सर्किट ब्रेकर लागेर खुलेको बजार ६१.६१ अंकले घटेर १४०७ अंकमा आइपुगेको छ । यसअघि बजार खुलेको ४० मिनेट पनि नपुग्दै नेप्से तीन प्रतिशतले घटेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यस्तै पुन खुलेको बजार १२ बजेर २७ मिनेट जादा पुन सर्किट ब्रेकर लागेको थियो । आइतबार पनि बजार खुलेको ४६ मिनेटमै बजार तीन प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाएर १५ मिनेट बजार स्थगित गरिएको थियो । बजार घट्दै जादा लगानीकर्ताहरु आत्तिएपछि सेयर आपुर्ति अत्यधिक बढ्न थालेको छ जसले गर्दा बजारले आपुर्तिलाई थेग्न सकिरहेको छैन ।