हरेक आवेदकलाई कम्तिमा १० कित्ता सेयर अनिवार्य, अब आवेदकलाई खाली हात नहुने

काठमाडौं । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो। बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो। आवेदकलाई हात खाली नपठाउने नीति अनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। नागरिक दैनिकबाट ।

साधारण सभाले पारित गरेको हकप्रद जारी गर्नै पर्ने, जनता बैंकको ६० प्रतिशत हकप्रद सेयर के हुन्छ ?

काठमाडौं । सूचिकृत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धी साधारण सभाबाट गरेको निर्णय उल्टाउन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र  निष्काशन तथा बाडफाँट निर्देशिका २०७४ मार्फत हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णयलाई अर्काे साधारण सभाले खारेज गर्न नपाउने व्यवस्था गरेको हो ।‘एउटा साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने भनेर निर्णय गरेपछि फेरी अर्काे साधारण सभाले त्यसलाई खारेज गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने । सूचिकृत कम्पनीहरुले एउटा साधारण सभाबाट हकप्रद सेयर निष्काशनको निर्णय गरेर दोश्रो बजारमा चलखेल गर्ने र केहि समय पछि फेरी अर्काे साधारण सभाबाट अघिल्लो निर्णय खारेज गर्ने परिपाटीको अन्त्य गर्ने नयाँ व्यवस्था ल्याएको जनाएको छ । ‘एउटा साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने निर्णय गराएर सेयरको मुल्य बढाउने अनि आफ्नो स्वार्थ पुरा भएपछि अर्काे साधारण सभाबाट खारेज गर्ने कुराले दोश्रो बजारका लगानी कर्ता अन्यायमा परेका थिए’, बोर्डका प्रवक्ता गिरिले भने । बोर्डको नयाँ निर्देशिका जेठ १२ गतेबाट लागु भएको हो । अब प्रश्न उठ्छ १३ गतेको बिशेष साधारण सभाबाट ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने जनता बैंकको निर्णय के हुन्छ ?  धितोपत्र बोर्डका प्रवक्ता गिरिले भने–जेठ १२ गतेदेखि निर्देशिका लागु भएको छ, त्यसपछि भएका सबै निर्णय र प्रक्रियामा यो निर्देशिका लागु हुन्छ ।’ जनता बैंकको गत फागुन १ गतको ७ औं बार्षिक साधारण सभाले गरेको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । जेठ १२ गतेदेखि लागु भएको निर्देशिकाले जेठ १३ गतेको बिशेष साधारण सभा मार्फत ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय उल्टाउने जनता बैंकलाई छुन्छ की छुँदैन ? बजारमा चासो बढेको छ । यसअघि रिलायबल डेभलपमेन्ट बैंकको एउटा साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट खारेज गर्दै ग्लोबल आइएमई बैंकसँग अक्वायरमा गएको थियो । त्यस्तै, राप्तीभेरी विकास बैंकले पनि हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय खारेज गरेको छ ।

आइतबारको सेयर बजारमा ७५ करोडको सेयर कारोबार, सबैभन्दा बढी सिद्धार्थ बैंकको

काठमाडौं । आइतबारको सेयर बजारमा ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आइतबार बैंकको ११ करोड ५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार नेप्से परिसूचक दोहो अंकले घटेको छ । साताको पहिलो दिन परिसूचक १४ अंकले घटेर १६१५ दशमलब ५८ अंकमा झरेको छ । त्यस्तै, कारोबारमा आएका दुई समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले झरेको छ ।