गुहेश्वरी मर्चेन्ट बैंकिङ्को पुस २२ गते साधारणसभा, पुस ७-२२ गतेसम्म बुक क्लोज
काठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले आगामी पुस २२ गते आफ्नो १५औँ साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि बैंकले पुस ७ गतेदेखि २२ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय बैंकको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद निष्कासन गर्ने
काठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर करिब ३६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्दै धितोपत्र बोर्ड, कालिकोटमा पुँजीबजार सम्बन्धी अन्तक्रिया सम्पन्न
काठमाडौं, ४ पुस । पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले कर्णाली अन्चलको कालिकोट जिल्लामा पुँजीबजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड र कालिकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा हालै देशको सवैभन्दा विकट ठाउँ मानिएको कालीकोटमा पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजार सम्बन्धी जनचेतना बढ्ने बताए । त्यस्तै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले कार्यक्रमलाई सम्वोधन गर्देै काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । उनले पूँजी बजार मार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिवुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजस्व बृद्धि गरी आर्थिक विकास गर्न सहयोग पुर्याउने दावी गरे । कार्यक्रमका उद्योग बाणिज्य संघका अध्यक्ष सूुर्य बहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमा नै पहिलो पटक पूँजी बजार सम्बन्धी यस्तो कार्यक्रम संचालन गर्न पाएको बताए । हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको थियो ।