काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेको छ । सोही पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायबाट स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।