नेपाल एसबिआई बैंकको एफपिओ आजबाट खुला, पुस १३ गतेसम्म आवदेन दिन पाइने
काठमाडौं, १० पुस । नेपाल एसबिआई बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) आजबाट बिक्री खुला भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको ६७ हजार ७ सय ६७ कित्ता सेयरको बिक्री खुला गरेको हो । यस कम्पनीले सर्वसाधारणको लागि ६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर निश्काशन गरेको छ । प्रिमियम मूल्य सहित बैंकको एफपीओको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । उक्त सेयर पुस १० गतेदेखि छिटोमा १३ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । काठमाडौंको केशरमहलमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । सो मात्राको एफपीओको लागि इच्छुक लगानीकर्ताले एनएमबी बैंकिङ् लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत तोकिएको मितिमा आवदेन दिन सक्नेछन् ।
प्रभु बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं, ८ पुस । प्रभु बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभाले बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितीको प्रतिवेदन सहित गत आ.व.०७२/०७३को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समिती लाई अख्तियारी दिने निर्णय गरेको छ । उक्त सभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक शेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का रहेका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल (सुभाष)निर्वाचित भएका छन् । साथै आजै बसेको नव निर्वाचित संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनलाई अध्यक्षमा सर्व सहमतिका साथ चयन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिनर्जी पावरको साधारण सेयर आजबाट खुला, पुस १२ गतेसम्म आवदेन दिन पाइने
काठमाडौं, ८ पुस । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो । उक्त सेयर पुस ८ गतेदेखि १२ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । नक्सालमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।