सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र बोर्डको अनुमति
काठमाडौं, १७ पुस । सिटिजन्स बैंक इन्टरनेसनलले १० बराबर २.५ (अर्थात २५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डको अनुमति मागेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभाबाट निर्णय भए वमोजिम सो मात्राको शेयर निष्काशन गर्न विवरणपत्र तयार गरी स्वीकृतिको लागी बोर्ड समक्ष अनुमति मागेको हो । सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागी बैंकले आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ । साथै, आगामी माघ १ गते देखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागी आश्वा प्रणालीको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।
मिसन डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन
काठमाडौं, १४ पुस । मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत मंगलबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १९ करोड ४९ लाख २५ हजार रूपैयाँको १९ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी १९ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।
प्रिमियर इन्स्योरेन्सको २१ प्रतिशत लाभांश पारित, ६ लाख कित्ता एफपीओ जारी गर्ने
काठमाडौं, १४ पुस । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ दशमलब ०५ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको २३ औँ साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको हो । साथै कम्पनीले सर्वसाधारणको लागि ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न सो मात्राको एफपिओ जारी गर्न लागेको हो । कम्पनीले एफपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । तर कम्पनीले हालसम्म एफपिओको मूल्य भने तोकिएको छैन । गत वर्षमा कम्पनीले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ करोड ४ लाख खुद नाफा कमाएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।