नेप्से दोहोरो अंकले ओरालो, ५१ करोडको सेयर कारोबार
काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबारको नेप्से ११.०१ अंकले ओरालो लागेर १५०९ अंकमा अडेको छ । बजारमा १५८ कम्पनीको ५१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नागबेली लघुवत्तको ६ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ११ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०९ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । आइतबार बीमा समूहको परिसूचक ८८ अंकले राताम्मे भएको छ । त्यस्तै, विकास बैंक १८, हाइड्रोपावर १६, बैंकिङ १२.७८ र माइक्रोफाइनान्स सममूहको परिसूचक १२ अंकले राताम्मे भएका छन् । सो दिन सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ३५ अंकले उकालो लागेको छ ।
जनसेवी लघुवित्तको शतप्रतिशत हकप्रद पारित, चुक्ता पुँजी ९ करोड ८० लाख पुग्यो
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर पारित भएको छ । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको यस संस्थाको दोश्रो बार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । संस्थाका अध्यक्ष विकाश गौचनको सभापतित्वमा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन लाई छलफल गरी पारित गरेको बताइएको छ । १०० प्रतिशत हकप्रद शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ पुग्नेछ भने जारी पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । संस्थापकहरुमा हकप्रद शेयर निश्कासन पश्चात ४ करोड २० लाख रुपैयाँ बराबरको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गरी संस्थाको चुक्तापुँजी १४ करोड पुर्याउने अध्यक्ष बिकाश गौचनले बताए । २०७२ आश्विन २२ देखि कारोवार शुरु गरेको यस वित्तीय संस्थाले कारोवारको दोश्रो वर्षसम्ममा १० जिल्लामा २० वटा शाखा मार्फत १० हजार भन्दा वढि महिलाहरुलाई सामुहिक जमानीमा ६४ करोड लगानी गरी २१ लाख ४९ हजार रुपैयाँ मुनाफा गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।
नेरुडे र सूर्योदय लघुवित्तले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?
काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तोकेका छन् । नेरुडे लघुवित्तको आगामी पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुन लागेको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि यस कम्पनीको उक्त २१ दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते हुँदै छ । सभामा सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर सहित ७.६८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरिने कम्पनीले जनाएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको पनि आगामी पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।