जनता बैंक नेपालको १२ प्रतिशत लाभांश पास, त्रिवेणी बिकास बैकसँग मर्जमा जाने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त बैंकको प्रस्तावलाई आइतबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले पास गरेको हो । साथै,सभाले बैंकको सञ्चालक समितिको सातौं बार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२/०७३ को नाफा नोक्सानहिसाब र सोही अवधिको नाफा- नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, साधारण सभाले जनता बैक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैक लिमिटेडलाई गाभ्ने (मर्जर)प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ । साथै, मर्जर पश्चात कायम हुन आउने बैंकको चुक्ता पूँजीको ६० प्रतिशत (अर्थात १०कित्ता शेयर बराबर ६कित्ता) हकप्रद शेयर जारी गरी गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७३/७४को बैंकको हरहिसाबको लेखापरीक्षण गर्नको लागिबेकर टिलि देव एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए. उमेश ढकाल, पार्टनर) लाई पुनःनियुक्त गरेको छ । बैंकले यही माघ मसान्त सम्ममा २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले १९करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले ४१ वटा शाखाहरु, ३३ वटा ए.टि.एम., १९ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, धितोपत्र बोर्ड भन्छ- हस्तछेप गर्ने बेला भएको छैन
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ । गत बिहीबार १२९६ अंकमा रहेको नेप्से परिसूचक घटेर १२२७ अंकमा झरेको छ । सेयर बजारमा दुई दिनमै करिब ७० अंकको गिरावट देखेपछि लगानीकर्ताहरु आत्तिएका छन् । गत सोमबारको तुलनामा यस सोमबारको करिब तीन घण्टाको सेयर कारोबारमा करिब १२१ अंकको गिरावट देखिएको छ । गत साताको सोमबार नेप्स परिसूचक १३४८ अंकमा रहेको थियो । बजारमा कारोबार भएको सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । १२६ कम्पनीको सेयर कारोबार मध्ये पाँच कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सोही अवधिसम्म करिब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता डा. नवराज अधिकारीले सेयर बजारको सुक्ष्म अध्ययन गरिहेको तर हस्तक्षेपबारे ठोस निर्णय भने नभएको बताए । ‘हामी बजारको सुक्ष्म अध्ययन गरिरहेका छौं, लगानी कर्ताको मनोबल कसरी उकास्ने भन्नेबारे सोचिरहेका छौं तर निष्कर्षमा पुगेका छैनौं र तत्कालै हस्तक्षेप गर्ने योजना बनाएका पनि छैनौं’, धितोपत्र बोर्डका सह प्रवक्ता डा. अधिकारीले भने । सेयर बजारको ठुलो लगानी मार्जिन लेण्डिङमा आधारित रहेकाले पनि बजारमा समस्या आएको हुन सक्ने उनले दावी गरे ।
नेप्सेमा दिव्यश्वरी हाइड्रोको कारोबार खुला, मूल्य ११६ देखि ३४८ रुपैयाँसम्म
काठमाडौं । सोमबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ । पुरानो बानेश्वरमा केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।