एसबीआई बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर पछि मूल्य समायोजन

काठमाडौं । आइतबार मात्रै नेपाल एसबीआई बैंक र लुम्बिनी जनरल इन्स्योेरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन यी दुई कम्पनीको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले एसबीआई बैंकको १५.४२ प्रतिशत बानेस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ रहेको थियो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योेरेन्सको पनि १२.८२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८०३ रुपैयाँ रहेको थियो ।

उन्नति माइक्रोफाइनान्सले एक करोड ६५ लाखको आईपीओ निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा न्यूरोडमा, थप १६ शाखा खोल्ने तयारी

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् । साथै, उनले सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने भनि उपस्थित सबैलाई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न आग्रह गरेका छन् । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख रुपैयाँ पुर्याउने भएका छन् । साथै, कम्पनीले अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफ्नो शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । यस नयाँ शाखा सहित कम्पनीले २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ ।