काठमाडौं । पुँजी बजारमा लगानीकर्ताका लागि ‘चिलिमे’ केवल एउटा जलविद्युत् कम्पनी मात्र थिएन, यो सुरक्षित लगानी र निरन्तर प्रतिफलको भरोसा थियो ।
स्थापनाको दुई दशकभन्दा बढी समयदेखि लगानीकर्ताको रोजाइमा पर्दै आएको यो कम्पनी गत भदौ १० गते भोटेकोसीमा आएको बाढीको चपेटामा परेको छ । अकस्मात आएको बाढीले रसुवास्थित २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि अहिले कम्पनीको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प छ ।
आयोजनामा क्षति पुगेसँगै चिलिमेको नियमित आम्दानी प्रभावित भएको छ । आयोजना पुनः सञ्चालनमा आउन समय लाग्ने देखिएपछि लगानीकर्ताको भरोसा बनेको चिलिमेको नियमित लाभांशसमेत अनिश्चित बनेको छ ।
चिलिमे हाइड्रोपावर आफ्नो स्थापनाकालदेखि नै सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने जलविद्युत कम्पनीको रूपमा चिनिन्छ । विगतमा ३० देखि ७० प्रतिशतसम्म लाभांश बाँडेको कम्पनीले पछिल्ला वर्षहरूमा पनि निरन्तर बोनस र नगद लाभांश वितरण गर्दै आएको थियो ।

बाढीले कति क्षति पुर्यायो ?
चिलिमे हाइड्रोपावर कम्पनीका प्रबन्धक निर्देशक बाबुराजा महर्जनले बाढीबाट पावर प्लान्ट, पेनस्टक/सिपेज र प्रसारण लाइनका दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए । उनका अनुसार हेडवर्क्समा भने क्षति पुगेको छैन ।
आयोजनामा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएको हुँदा अहिले उद्धार कार्यमा कम्पनी व्यस्त रहेकाले क्षतिको कुल मूल्यांकन भइनसकेको उनको भनाइ छ । यद्यपि, भोटेकोसी करिडोरमा क्षति भएका आयोजनामध्ये चिलिमेको क्षति तुलनात्मक रूपमा कम रहेको महर्जनको भनाइ छ ।
चिलिमेको हेडवर्क्स भोटेकोसी नदीमा नभई चिलिमे खोलामा रहेकाले त्यसमा क्षति नपुगेको उनले बताए । ‘क्षतिग्रस्त आयोजनामध्ये चिलिमेको क्षति तुलनात्मक रूपमा कम छ,’ उनले भने ।
प्रबन्ध निर्देशक महर्जनका अनुसार कम्पनीको मुख्य आम्दानीको स्रोत विद्युत् बिक्री भएकाले आयोजना बन्द हुँदा आगामी दिनमा कम्पनीको आम्दानीमा ठूलो असर पर्नेछ । आगामी केही समय सामान्य ब्याज आम्दानीबाहेक अन्य मुख्य आम्दानी नहुने अवस्था नरहेको उनले बताए ।
सेयर मूल्यमा गिरावट, मनोविज्ञानमा असर
बाढीपछि चिलिमे हाइड्रोपावरको सेयर मूल्यमा पनि निरन्तर गिरावट देखिँदै आएको छ । बाढीअघि अर्थात् भदौ ९ देखि असोज २६ गतेसम्ममा आइपुग्दा बजार ४७५.१० रुपैयाँबाट ३५२.१० रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ अर्थात् २५.८९ प्रतिशतले घटेको छ ।
आयोजनामा क्षति पुगेसँगै पुनः सञ्चालनमा आउन लामो समय लाग्ने र पुनःनिर्माणमा ठूलो पुँजी खर्च हुने खबरले गर्दा लगानीकर्ता आत्तिएको कारण बजार घटेको हुन सक्ने बजार विश्लेषकहरू बताउँछन् ।
आयोजना सञ्चालनमा ढिलाइ हुँदा आगामी वर्षहरूमा त्यसबाट प्रतिफल पाउने अपेक्षामा रहेका लगानीकर्ताको मनोविज्ञानमा समेत असर परेको सेयर बजारका जानकार देव गुरागाईंको विश्लेषण छ ।
प्रारम्भिक विवरणअनुसार क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने गुरागाईंको भनाइ छ । ‘अब राज्य, सम्बन्धित कम्पनी र ठूला लगानीकर्ताले पुनःस्थापनामा कस्तो भूमिका खेल्छन् भन्ने विषयलाई लगानीकर्ताले पर्खेर हेरिरहेका छन्,’ उनले भने ।
वित्तीय अवस्थामा चुनौती
क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजना पुनः सञ्चालनमा आउन समय लाग्ने भएपछि कम्पनीलाई आगामी दिनमा वित्तीय चुनौती थपिने देखिएको छ । यद्यपि, नेपालको ऊर्जा क्षेत्रमा पुरानो, सफल र ‘मोडल’ जलविद्युत् कम्पनीका रूपमा स्थापित चिलिमे पुनः लयमा फर्किन धेरै समय नलाग्ने विश्लेषकहरूको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सेयर विश्लेषक भरतसिंह थापाका अनुसार बाढीका कारण लगानीकर्ताको मनोविज्ञानमा असर परे पनि स्थापित जलविद्युत् कम्पनी दीर्घकालमा पुनः लयमा फर्किन सक्छन् । कम्पनीहरूले जोखिम व्यवस्थापनका लागि लगानी विविधिकरणसँगै बीमाको व्यवस्था गरेका कारण अहिले नै लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
यद्यपि, बाढीबाट भौतिक क्षति भएका कम्पनीको आगामी वित्तीय विवरणमा त्यसको प्रत्यक्ष प्रभाव देखिने उनको भनाइ छ ।
‘अहिले आयोजनाबाट सोझै अपरेटिङ रेभेन्यु जेनेरेट हुन सकेको छैन,’ उनले भने, ‘अन्य स्रोत वा लगानीबाट केही आम्दानी भए पनि कम्पनीको मुख्य व्यवसाय हाइड्रो भएकाले आगामी त्रैमासमा रेभिन्यु उल्लेखनीय रूपमा घट्न सक्छ ।’
उनका अनुसार पुराना तथा स्थापित जलविद्युत् कम्पनी तुलनात्मक रूपमा छिटो रिकभर हुन सक्छन् । तर नयाँ तथा वित्तीय रूपमा कमजोर कम्पनीलाई ठूलो क्षतिपछि पुनः सञ्चालनमा आउन कठिन हुन सक्ने उनको विश्लेषण छ ।
आयोजनाका प्रबन्धक निर्देशक महर्जनका अनुसार आयोजनाको बीमा गरिएको हुँदा सबै भार कम्पनीमाथि मात्रै पर्दैन । उनले कम्पनीले आयोजनाको बीमा हिमालयन इन्स्यारेन्समा गरेको जानकारी दिए ।
आयोजनाको सबैजसो प्लान्टको बीमा गरिएको भएपनि ह्रासकट्टी मूल्यमा बीमा भएकाले क्षतिको करिब ४० प्रतिशत मात्रै बीमाबाट कभर हुने अनुमान उनको छ ।
बाढीका कारण कम्पनीको आम्दानी र नाफामा असर पर्ने भएकाले यसको प्रभाव सेयर बजारमा समेत परेको उनले बताए । व्यवस्थापनले आयोजना पुन:निर्माण गरी पुनः सञ्चालनमा ल्याएर कम्पनीलाई पुरानै अवस्थामा फर्काउने प्रयास गर्ने उनको भनाइ छ ।
विद्युत् उत्पादन पुनः हुन एक वर्ष लाग्ने
प्रबन्ध निर्देशक महर्जनका अनुसार क्षतिग्रस्त आयोजना पुनःनिर्माणपछि सञ्चालनमा आउन एक वर्ष लाग्ने अनुमान छ । ‘विद्युत् उत्पादन पुनः सुरु गर्न लगभग एक वर्ष लाग्ने देखिन्छ,’ महर्जनले भने ।
उनले उद्धार कार्य सकिएलगत्तै पुन:निर्माणको काम अघि बढाइने उनले बताए । नदीको सतह बढेकोको कारणले गर्दा भविष्यमा पुनःनिर्माणका लागि अर्को चुनौती थपिएको पनि उनको भनाइ छ ।
बाढीका कारण तत्काल सञ्चालनमा चुनौती थपिए पनि चिलिमे वित्तीय रूपमा तुलनात्मक रूपमा बलियो कम्पनी रहेको कम्पनीको भनाइ छ । कम्पनीको आव २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कुल आम्दानी १ अर्ब १६ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीले उक्त अवधिमा ७२ करोड ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।
चिलिमे जलविद्युत् कम्पनी सन् १९९६ मा स्थापना भएको हो । कम्पनीले २०६० भदौ ८ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको थियो ।
कम्पनीमा सबैभन्दा ठूलो सेयर स्वामित्व नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा छ, जसमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाको रहेको छ ।