यूनाइटेड मोदीको १७ लाख २५ हजार कित्ता आइपीओ आउँदै, फागुन १९ गतेदेखि बिक्री खुला

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि १७ लाख २५ हजार कित्ता थप साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १९ गतेदेखि एक सय अंकित मूल्य बराबरको १७ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुला गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको सेयर बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, सि.बी.आई.एल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी, भिबोर क्यापिटल ललितपुर, गोर्खाज फाईनाइन्सका शाखा कार्यालयहरु बाट आवेदन गर्न सक्नेछन् । साथै, डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्यबिनायक, दमक, धरान, ईटहरी, नारायणगढ र बिर्तामोडबाट पनि इच्छुक लगानीकर्ताले सो मात्राको आईपीओमा आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

नेप्से परिसूचक सामान्य अंकले ओरालो लाग्दा ८१ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक ४ दशमलब २४ अंकले ओरालो लागेर १३६५ दशमलब ११ अंकमा अडिएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सेयर कारोबारमा भने सुधार आएको छ । सोमबारको बजारमा ८१ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम आइतबारको तुलनामा करिब १५ करोड ३३ लाख रुपैयाँ बढी हो । आइतबार ६६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार १३६ कम्पनीको १५ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २० लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३३५ रुपैयाँ रहको छ । त्यस्तै, बैंक अफ काठमाण्डू र शिखर इन्स्योरेन्स कम्पनीको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन बीमा र होटल समूहको सूचक बाहेक बाँकी समूहको परिसूचकहरु ओरालो लागेका छन् । विकास बैंक, अन्य समूह, फाइनान्स, बैंकिङ् र हाइड्रो समूहको परिसूचक क्रमशः ९, ६, ५, ४ र ३ अंकले ओरालो लागेका हुन् । बीमा र होटल समूहको परिसूचक भने क्रमशः ३६ र ४ अंकले उकालो लागेका छन् । सोमबार आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ रहेको छ । त्यस्तै, विजय लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभलपमेन्ट बैंक र रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

एनआईडिसीको वार्षिक साधारणसभा चैत ४ गते, फागुन २० देखि १५ दिन बुक क्लोज

काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले आगामी चैत ४ गते ४९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । सभाले एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने/गाभिने प्रस्तावलाई पारित गर्ने भएको छ । उक्त साधारणसभा प्रयोजनको लागि फागुन २० गतेदेखि चैत ४ गते (अर्थात १५ दिन)सम्म सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ ।