बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । शुक्रबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, मुक्तिनाथ विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । रुरल माइक्रोफाइनान्सको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको पनि २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ रुपैयाँ रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । त्यसैगरी, सिभिल लघुवित्तको पनि ४.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँ रहेको छ ।

एनआरएनले भने-सेयर बजारमा १० अर्ब लगानी गर्छाै

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन) का पदाधिकारीहरुले सेयर बजारमा लगानी गर्ने व्यवस्था भएमा सुरुमै १० अर्ब लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग सेयर बजारमा एनआरएनको लगानीका बारेमा छलफल गर्न पुगेका पदाधिकारीहरुले सुरुमै १० अर्बको लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । भेटमा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पुँजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको र सुरुमै १० अर्ब लगानी गर्ने मनसाय तयार पारेको बताएका हुन् । भेटमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि लगायतका सुधारका काम सम्पन्न गरेको बताएका थिए । उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि बढाईसकेको जानकारी पनि दिएका थिए । डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी पनि दिएका थिए ।  

हिमालयन डिष्टिलरीको नगद लाभांस पारित

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न कम्पनीको १७औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभंसमा लाग्ने कर सहित प्रतिसेयर २१.०५ रुपैयाँका दरले नगद लाभांस वितरण गर्न लागेकाे हाे । साथै, साभाले कम्पनीका संस्थापक समुहबाट रहिशा शाह श्रेष्ठ, अखिलेश्वरप्रसाद सिंह र नरेन्द्रकुमार वस्न्यात् निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समुहबाट शंकरराज पाण्डे र साण्टु श्रेष्ठ निर्विरोध सञ्चालकमा चयन भएका छन् ।