नेपाल हाइड्रोको पुस २६ गते बुक क्लोज

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आगामी पुस २६ गते बुक क्लोज हुने भएको छ । विशेष साधारणसभामा जाने प्रयोजनको लागि यस हाइड्रो बुक क्लोज हुन लागेको हो । हाइड्रो आगामी माघ ४ गते विशेष साधारणसभामा जाँदै छ ।

बोनस सेयर पछि जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्टको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार मात्रै जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समोयोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यी दुबै कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । जानकी फाइनान्सको १८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकको पनि १५.७९५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण पेश गर्न नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले प्रकाशित गरेको सूचनामार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । सूचीकृत सबै कम्पनीको संस्थापक र पब्लिक शेयरधनीको सूचीका साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सूचीकृत कम्पनीले लेखा परीक्षण नगरेको भए पनि अघिल्ला तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरणका लागि उक्त विवरण माग गरेको जनाएको छ । उक्त विवरण आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०५३ अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तीमा रु दुई करोड भएको, साधारण शेयरवालाको सङ्ख्या कम्तीमा एक हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरणसमेत उल्लेख गर्न कम्पनीलाई आग्रह गरेको छ । कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई (क) वर्गमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । रासस