इन्टरनेटमार्फत सेयरको कारोबार गर्नुपर्ने, सेयरलाई विश्वव्यापी पहुँचमा पुर्याउँनुपर्ने

काठमाडौं । नियामक निकायको निर्देशन कार्यान्वयन भएमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले संसारका जुनसुकै ठाँउबाट पनि नेपालमा सेयरको किनबेच गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डले अनलाइनमार्फत सेयरको कारोबार गर्ने सुविधा लगानीकर्तालाई दिने गरी व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायी हरुलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्रको कारोबार प्रक्रियालाई सहज, पारदर्शी, सरल, छिटोछरितो र लगानीमैत्री बनाउँन भन्दै विहिबार यस्तो निर्देशन एिको हो । यसका लागि ब्रोकर कार्यालयमा रहने कारोबार सम्वन्धि अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न धितोपत्र दलाल व्यवसायीहरुले हाल उपयोग गरिरहेको स्वीकृत ब्रोकर ब्याकअफिस सफ्टवेयरमासमेत आवश्यक सुधार तथा थप गर्नुपर्ने बोर्डले जानकारी दिएको छ । प्रणालीगत सुधार र पूर्वतयारी सकेर अनलाईनमार्फत सेयर कारोबार गर्ने व्यवस्थाको शीघ्र कार्यान्वयन गर्न बोर्डले परिपत्रमार्फत ब्रोकर कम्पनीलाई निर्देशन दिएको हो । नयाँ पत्रिका दैनिकबाट ।

प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै, चैत ६ गते बुक क्लोज

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्नेे निर्णय गरेको छ । उक्त निर्णय फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । सो प्रयोजनको लागि चैत ६ गते कम्पनीको बुक क्लोज हुने सोही बैठकले निर्णय गरेको छ । कम्पनीको सो मात्राको हकप्रद निष्कासन गर्ने प्रस्तावलाई गत फागुन १२ गते नै धितापत्र बोर्डले अनुमति दिएको हो ।

सेयर बजार हरियो, नेप्से परिसूचक सामान्य अंकले बढ्दा ५२ करोडको सेयर करोबार

काठमाडौं । केही दिन राताम्मे भएको सेयर बजार बिहीबार हरियो भएको छ । सो दिन नेप्से परिसूचक ५ दशमलब ९७ अंकले बढेर १३४७ दशमलब ५३ अंकमा पुगेको छ । बजार सामान्य अंकले बढ्दा १३८ कम्पनीको ५२ करोड ४८ लाख रुपैयाँको सेयर करोबार भएको छ । बजारमा कारोबार भएका दुई समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ दशमलब २५ अंकले उकालो लागेको छ । होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २४ र १३ अंकले उकालो लागेका छन् । उत्पादन मूलक र अन्य समूहको परिसूचक क्रमशः १२ र ४ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।