कामना सेवा विकास बैंकको माघ ३ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

काठमाडौं । कामना सेवा विकास बैंकको आगामी माघ ३ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिनका लागि सेयर नामसारी तथा दाखिल खारेज बन्द गर्न लागेको हो । यस बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब नाघ्ने छ ।

सेयर बजारमा ८ अंकको वृद्धि, बीमा समूह १६५ अंकले उक्लियो

काठमाडौं । आइतबारको सेयर बजारमा करिब ८ अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ । बजार नेप्से परिसूचकमा सुधार भएतापनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबारको बजारमा कुल १५७ कम्पनीको जम्मा ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३१ रुपैयाँ बढी हो । त्यस्तै, बीमा समूहको परिसूचक १६५ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्सको २०, होटलको १४ र उत्पादनमूलकको १० अंकले परिसूचक बढेका छन् । बजारमा फाइनान्स र अन्य समूहको परिसूचक भने क्रमशः १.१४ र ०.५७ अंकले ओरालो लागेका छन् । उता ट्रेडिङ समूह भने स्थिर छ ।

बोनस सेयरपछि तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । अपी पावरको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको थियो । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७८२ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ रहेको छ । त्यसैगरी, कञ्चनको पनि १२.३३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको छ ।