मेगा बैंकको १४ प्रतिशत लाभांश र ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीहरुलाई १४ दशमलब ६५ प्रतिशत सेयर लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको छैटौं साधारणसभाले सेयरधनीलाई १३.९५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गरेको हो । साथै, उक्त सभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ३८ अर्ब ५२ करोड रुपैंया र कर्जा ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । सो अवधिमा बैंकले ३७ करोड ९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । हाल बैंकले ३९ वटा शाखा, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरुबाट बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।
थपिए तीन क्लियरिङ बैंक
काठमाडौं । सिडिएस एन्ड क्लियरिङले तीन वटा नयाँ क्लियरिङ बैंक थपेको छ । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरिएका सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजलाई जानकारी दिए । थपिएका क्लियरिङ बैंकहरुले चाँडै राफसाफको काम अघि बढाउने पनि उनले बताए । थप तीन वटा क्लियरिङ्ग बैंक नियुक्त गर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सूचना प्रकाशित गरी आशयपत्र माग गरेको थियो । सानिमा बैंक, बैंक अफ काठमान्डु, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेस्ट बैंक र एनबी बैकलेआशयपत्र पेश गरेका थिए । आवेदन दिएका बैंकहरुमध्येबाट तीन वटा बैंक छनौट भएका हुन् । अब क्लियरिङ बैंकको संख्या चार वटा पुगेको छ । यसअघि ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको थियो । शाखा सञ्चाल, प्रबिधी, धेरै चुक्ता पुँजी, आश्वा प्रणालीको सदस्यता, डिपी लाईसेन्स प्राप्त गरेको, सरकारी कारोबार गरेको लगायतका मापदण्डका आधारमा तीन वटा बैंकले क्लियरिङ बैंकको सेवा सञ्चालन गर्न पाएका हुन् ।
राधी विद्युत कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको निवेदन अनुसार बिहीबार नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ४ करोड दश लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ ।