अपी पावर कम्पनीको साधारणसभा आज, २ सय प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित होला ?

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज १ बजे हुदैछ । साधारणसभामा २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पेश हुदैछ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपीले हकप्रद सेयर निष्कासन गर्ने भनेको छ । साधारणसभाबाट २ सय प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित भएपछि प्रक्रिया अघि बढाउने उसको तयारी छ । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको भन्दा कम दरमा सोलारको बिजुली खरिद गर्ने कार्यविधि ल्याएपछि अपीको सोलार योजना अलपत्र परेको छ । यसअघि ऊर्जा संकट समधान गर्न सरकारले सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपछि २१ कम्पनीले ६१ मेगावाट बिजुली उत्पादन योजनासहित प्राधिकरणमा पीपीएका लागि निवेदन दिएका थिए । त्यसबेला प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६१ पैसा आधारदर तयार गरेको थियो । कम्पनीहरुले प्रतियुनिट ९ रुपैयाँ ४५ पैसा र ८ रुपैयाँ ३५ पैसामा बिजुली बेच्ने प्रस्ताव गरेका थिए । ऊर्जा मन्त्रालयले हालसालै तयार पारेको सोलारबाट बिजुली उत्पादन गर्ने निर्देशिकामा प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर कायम गरेपछि यसलाई अघि बढाउन कानूनी समस्या भएको हो । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीले २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।

कमिसन कटौतीका कारण नेप्सेको नाफा घट्यो

काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा  ३७ करोड २० लाख ८५ हजार  रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले  ४७ करोड ४९ लाख ६० हजार  रूपैयाँ  नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको नाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको नाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।  नेप्सेले गत आवमा  ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष  ६९ करोड ६१ लाख ९४ हजार रूपैयाँ आम्दानी गरेको थियो । गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी  ५९ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बराबरको पूँजी परिचालन गरेका छन् । प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ .६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रूपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४.९० प्रतिशतले वृद्धि भई र२ खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा  ७० करोड ३६ लाखबाट बढेर  ८९ करोड तीन लाख रूपैयाँ पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/०७३ मा ८ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आवको तुलनामा ६९.९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९.९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । घट्यो बजार पूँजीकरण  आव २०७२/७३ मा १८ खर्ब ९० अर्ब रूपैयाँ  रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १.७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा  १८ खर्ब ५६ अर्ब रूपैयाँ कायम भएको छ । आव २०७२/ ७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ । समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर र ७३ कम्पनीको  ३० अर्ब ४६ करोड ४८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल १ खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् । यस अवधिमा ३ अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेप्सेमा आव २०७२/ ७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा १ हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा १ हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७.८९ प्रतिशतले घटेको हो । पचास प्रतिशत नगद लाभांश बाँडिदै  नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले  १५ करोड लाभांश वितरण गरेको छ । जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात ८ करोड ७० लाख रूपैयाँ जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात ५  करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले ६  प्रतिशतअर्थात ९० लाख नाफा पाएको छ ।  नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ । रासस

रुरल माइक्रोफाइनान्सले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा मिलनकुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन गरेको छ । यस संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ र चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले आव २०७३/७४ को अन्तसम्ममा २१ अर्ब ३९ करोड ऋण लगानी गरेको छ ।