दुई संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं । बिहीबार दुई संस्थाको ४ लाख ७७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ लाख २९ हजार कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

हाथवे फाइनान्सको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । बिहीबार हाथवे फाइनान्स कम्पनीको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सुनसरीको धरानमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य १९३ रुपैयाँ रहेको थियो । समायोजन पछि खुलेको पहिलो कारोबारमा विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १७४ रुपैयाँ पुगेको छ ।