नेप्से परिसूचक साताकै न्युनतम बिन्दुमा, कारोबार रकममा ८५ करोड गिरावट

काठमाडौं । बिहीबारको नेप्से परिसूचक यस साताकै न्युनतम विन्दुमा झरेको छ । साताको पहिलो दिन १२१५ अंकबाट शुरु भएको बजार अन्तिम दिन ११७८ अंकमा झरेको छ । साताभरिमा नेप्से परिसूचक ३७ अंकले घटेको छ । समग्रमा बिहीबारको नेप्से अघिल्लो दिनको तुलनामा १.५६ अंकले घटेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट भएको छ । बिहीबारको कारोबार रकम २७ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । जुन गत बिहीबारको तुलनामा ८५ करोड ३० लाख रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा नेपाल बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर र एनसीसी बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । साताको अन्तिम कारोबारमा तीन समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । विकास बैंक, जलविद्युत र होटल समूह क्रमशः ६.१८, ६.३७ र ४.३६ अंकले घटेको छ । सो दिन जीवन बीमा समूह ६८ अंकले उकालो लागेको छ । सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बिहीबार ६.९७ प्रतिशत गुमाएका छन् ।

कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निश्कासन गर्ने, सेयर मूल्य घट्यो

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले आर्थिक वर्षको २०७५ असार मसान्तको चुक्ता पुँजीको सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो । संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ पुग्ने छ । संस्थाले हकप्रद सेयर घोषणा सँगै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार प्रतिकित्ता ११०४ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य बिहीबार प्रतिकित्ता १०४५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनमा ५९ रुपैयाँ घटी हो । बिहीबार संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १०१० रुपैयाँसम्म कारोबार भएको थियो ।

चौतारी लघुवित्तको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १११.८८ देखि २९५.२३ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । बुटवलको बुद्धपथमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।