ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १० अर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पाउने छन् । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई उक्त बोनस दिन लागेको हो । उक्त बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकले हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त बैंकिङ् सेवा दिँदै आइरहेको छ ।

नेपाल बङ्गलादेश बैंकको १० प्रतिशत नगद लाभांश पारित, निक्षेप ४८ अर्ब बढी

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले ४८ अर्ब निक्षेप र ४३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।

सबैभन्दा बढी सेयरधनी भएको कम्पनीको सेयर कारोबार आइतबारदेखि खुल्दै

काठमाडौं । नेपालमा रहेका कम्पनीहरुमै सबैभन्दा धेरै शेयरधनी संख्या भएकाे अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडकाे शेयर नेप्सेमा सूचिकृत भएकाे छ । सूचिकृत भएसँगै ७ लाख भन्दा बढी शेयरधनीमध्ये ३ लाख ३४ हजार शेयरधनीसँग रहेकाे १ कराेड ५८ लाख कित्ता शेयरकाे काराेबार आइतबारदेखि शुरु हुने निश्चित भएकाे छ । कम्पनीको १० करोड ५९ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । कुनै पनि सूचिकृत कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको भोलिपल्टदेखि कारोबार शुरु गर्ने व्यवस्था रहेको छ । सोही अनुसार यस कम्पनीको पनि आगामी आइतबार अर्थात पुस २९ गतेदेखि नेप्सेमा सेयर कारोबार हुने छ । अब इच्छुक लगानीकर्ताले उक्त दिनदेखि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने छन् । सर्वसाधारणकाे काराेबार खुलेसँगै कर्मचारी सञ्चयकाेषका सञ्चयकर्ताहरुकाे काराेबार पनि शुरु हुने बाटाे खुलेकाे छ । अपर तामाकाेशीमा १ लाख ७६ हजार कर्मचारीकाे शेयर छ जुन जारी भएङ्काे ३ वर्ष पुरा भइसकेकाे छ । त्यस्तै २ लाख २२ हजार स्थानीयवासीकाे शेयर भने भर्खरै मात्र जारी गरिएकाेले त्याे काराेबार हुन अझै तीन वर्ष कुर्नुपर्नेछ ।