‘सीआईटी’ र ‘अपर’ले उचाल्यो शेयरबजार, बजार पुँजीकरणमा करिब ५ अर्बको योगदान

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर र नागरिक लगानी कोषका शेयर स्क्रिपहरुको मूल्यमा १० प्रतिशतको वृद्धि हुँदा समग्र बजार परिसूचक १७ अंकले माथि उक्लेको छ । मंगलबारको शेयर बजारमा परिसूचक १७.५१ अंकले बढेर ११९५.५४ अंक पुगेको छ । उक्त दिन कारोबार रकम ३९ करोड ७३ लाख भएको छ । आज कारोबार भएका सबै ११ वटै परिसूचकहरुका वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावरको वृद्धिले हाइड्रो परिसूचकले ४.३५ प्रतिशतको वृद्धि हासिल गरेको छ । माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयरको अघिल्लो दिनको बजार पुँजीकरण २४ अर्ब ८८ करोड थियो । यसमा करिब १० प्रतिशतले वृद्धि हुँदा कुल बजार पुँजीकरणमा करिब साढे २ अर्ब सहयोग पुगेको थियो । त्यस्तै, नागरिक लगानी कोष २१ अर्ब ४५ करोड ९१ लाखबाट १० प्रतिशत २ अर्ब ३५ करोड रुपैंया बढेको छ । अपर तामाकोशी र नागरिक लगानी कोषले आजको बजारमा करिब ४ अर्ब ८५ कराेडको योगदान पुर्याएका छन् ।

मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२ रूपैयाँले बढ्याे

काठमाडौं । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६४३.३३ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९७.६७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि मंगलबार खुलेको पहिलो कारोबारमा संस्थाको सेयर मूल्यमा वृद्धि भइरहेको छ । करिब एक बजेसम्म संस्थाको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले बढेर ६५६ रुपैयाँमा कारोबार भइरहेको छ । सो दिन प्रतिकित्ता ६४३ रुपैयाँदेखि संस्थाको सेयर कारोबार खुला भएको थियो ।

साेमबारको बजार ११ अंकले हैन, ३ अंकले मात्रै बढेको हो : नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पुस मसान्तको दिन भएको कारोबारबाट देखिएको परिसूचकलाई समायोजन गरेको छ । अपर तामाकोशीको शेयरमूल्य ५० प्रतिशत वृद्धि भएर कारोबार भएपछि उच्च मूल्यमा बढेको देखिएको परिसूचकलाई सो मूल्य समायोजन गर्दा करिब ११७८.०३ विन्दु कायम भएको छ । सोमबार कारोबार बन्द हुँदा यो अंक करिब ११८६.८० अंक देखिएको थियो । सोमबार भएको कारोबारमा २३५ रुपैंयासम्मको कारोबारलाई मात्र मान्यता दिइएको छ । त्यसभन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरिएको छ । अपर तामाकोशीको अघिल्लो दिनको क्लोजिङ मूल्य २३५ रुपैंया कायम गरिएको छ ।