दुई कम्पनीको कराेडाैँको सेयर काराेबार, सबैभन्दा बढी लगानी कोषको

काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नागरिक लगानी कोष र अपर तामाकोशीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । लगानी कोषकोे २ करोड ३० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २७१७ रुपैयाँ रहेको छ । त्यस्तै, अपर तामाकोशीको एक करोड ३६ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४ रुपैयाँले घटेर प्रतिकित्ता २५६ रुपैयाँमा झरेको छ । बुधबारको बजारमा कुल १६८ कम्पनीको १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा बुधबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.४० अंकले घटेर ११६०.५९ अंकमा अडिएको छ । सो दिन कुल ११ वटा समूहहरु कारोबारमा आएका छन् । सो मध्ये ५ वटा समूह उकालो लागेका छन् भने बाँकी ६ वटा समूह ओरालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी ६३ अंकले घटेको छ भने होटल समूह ५.६९ अंकले बढेको छ । बजारमा उन्नति माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.१४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको सेयर मूल्य ७.५२ प्रतिशतले घटेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तले २०% बोनसपछि १०% हकप्रद जारी गर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि संस्थाले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ करोड ४५ लाख रुपैयाँ कायम हुने छ । छ । उक्त कायम पुँजीमा कम्पनीले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद पछि संस्थाको ३ करोड ७९ लाख रुपैयाँ नाघ्ने छ । यसका साथै, उक्त बोनस सेयर भुक्तानी गर्दा लाग्ने कर वापत ३ लाख तीन हजार रुपैयाँ नगद लाभांश दिने संस्थाको प्रस्ताव रहेको छ ।

लगानी कोष र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । सोमबार दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकको कूल ४० लाख ९९ हजार ३२६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । साे मध्ये लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता र महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।