साञ्जेन जलविद्युतले ५४ करोडको आईपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आईपीओ निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले नागरिक लगानी कोष मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।
शुक्रबार हिमालय उर्जा विकास कम्पनीको आईपीओ बाँडफाँड हुने
काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले हालै जारी गरेको साधारण सेयर(आईपीओ)को बाँडफाँड शुक्रबार(पुस ६ गते) हुने भएको छ । कम्पनीले बिक्री गरेको कुल ९ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओको बाँडफाँड भोलि बिहान १०ः३० बजे बिक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडमा हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रहरु रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागि अंकित मूल्य एक सय रुपैयाँ दरमा ९ लाख ९० हजार कित्ता आईपीओको बिक्री गरेको थियो । उक्त आईपीओको लागि कम्पनीले गत कात्तिक ६ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुला गरेको थियो । उक्त आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ ।
बेष्ट फाइनान्सको ८ लाख कित्ता हकप्रद सेयर लिलामीमा, माघ १० गते अन्तिम दिन
काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्स लिमिटेडतर्फको संस्थापक र सर्वसाधरणतर्फको बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको कूल ८ लाख ५ हजार ८४.४७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न बिक्री गर्न सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको छ । हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कम्पनीले असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पुर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ ५ लाख ५७ हजार ७ सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४७ हजार ३ सय ९ दशमलव ९० कित्ता लिलाम बिक्रीका लागि सुचना जारी गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि कम्पनीको सम्पुर्ण शाखा र बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।