चिलिमे जलविद्युतले पुस २७ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको आगामी पुस २७ गते २२औँ वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्न लागेको छ । कम्पनीको वार्षिक साधारणसभा उक्त दिन बिहानको ११ बजे काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसियल क्लबमा बस्दै छ । सभाले सञ्चालक समितिको २५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको बैठकले चुक्ता पुँजीकाे २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ लाख रुपैयाँ रहेको छ ।

आँधिखोला लघुवित्तले ४० कराेडकाे आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुमा ४० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता आईपीओ जारी गर्न लागेकाे हाे । लघुवित्तले सो मात्राको सेयर निष्काशनको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल आँधिखोला लघुवित्तको अधिकृत पुँजी १५ करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनेछ । स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिब ४९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, संस्थाले बचत संकलन १४ करोड ४५ लाख रुपैयाँ गरी करिव ८० लाख रुपैयाँ नाफा गरेको छ ।

सेयर बजारले गति लियो, नेप्से १३ अंकले बढ्दा निर्जीवन बीमा समूहमा उच्च वृद्धि

काठमाडौं । सेयर बजारमा सरकारले सकारात्मक नीति लिएपछि सेयर बजारले गति लिएको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १५.१७ अंकले बढेर ११८२.७८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशत वृद्धि हो । अर्थमन्त्रालयले समिति गठन गरेपछि लगानीकर्ता आशावादी देखिएका छन् । जसले गर्दा सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबार कुल १५९ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ४ करोड ८३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, दोहोरो अंकले उकालो लागेको बजारमा विभिन्न ४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको ९.८९, पूर्णिमा विकास बैंकको ९.८० र आरम्भ माइक्रोफाइनान्सको ९.२१ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा समूहको सूचक २२०.५१ अंकले उकालो लागेको छ । सोमबार ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । ट्रेडिङ समूह सामान्य ३.०४ अंकले घटेको छ ।