लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन् । लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सुचारु गर्ने बताइन् । उनले भनिन्, ‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ । विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ। बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरवलोकन गर्ने काम भइरहेको छ ।’ स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको बताइन् । उनले निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यथावत रहेको बताइन् । तथ्यांकअनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले बीमाको प्रभावकारिता बढाउन सरकार लागिपरेको उनको दाबी छ । तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’को अभावका विषयमा मन्त्री मेहताले काठमाडौंमा ८ हजार ५ सय भायल औषधि आइपुगेको र आइतबारदेखि नै देशका विभिन्न भागमा वितरण सुरु हुने बताइन् । केही अस्पताल र सैनिक क्याम्पहरूमा मौज्दात कमी भए पनि पूर्ण रूपमा अभाव हुन नदिने उनले बताइन् ।

नाटा अध्यक्षमा भरतजंग पाण्डे विजयी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटाको) निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । अर्का अध्यक्षकी उम्मेदवार युविका भण्डारीले १५८ र जीस्वन तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेकी छन्। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मत, महासचिवमा राजकुमार देवकोटा १५८ मत, सचिवमा रमेश पराजुली १९५ मत, कोषाध्यक्षमा डिकी शेर्पा २०८ मत तथा सहसचिव/सहकोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भएका छन्। त्यस्तै,सदस्यहरूमा स्मरिका थापा, प्रकाश लोहनी, नबिन गुरुङ, दिनेश मैनाली, सुमन लाल श्रेष्ठ, स्वस्तिका प्रधान, सङ्केत दाहाल र बिभाष पौडेल निर्वाचित भएका छन्। शुक्रबार मध्याह्नदेखि नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो। यसअघिको समितिमा अध्यक्ष कुमार मनी थपलियाको नेतृत्वमा समिति रहेको थियो । त्यसैगरी, ५९ औं साधारणसभा सम्पन्न भएको थियो।

नेपाल टेलिकमले कमायो ८ अर्ब ८६ करोड खुद नाफा

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो । कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो । त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको ईबीआईटीडीए २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशत बढी हो । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ । कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आयमा भने कमी आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा ब्याज आय करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ । राजस्व वृद्धिमा भने जीएसएम सेवातर्फको आम्दानीले योगदान गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा जीएसएमतर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । राष्ट्रको सञ्चार सेवाका रूपमा कम्पनीले बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारको कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।