नसर्ने रोगले आँखाको समस्या बढाउँदै : एक अध्ययन

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।      अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ ।      अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौं जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।      ‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौं डिस्ट्रिक्ट अफ नेपालः काठमाडौं आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९९० जना सहभागी थिए । सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ जसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो ।      अध्ययनले आँखा दानबारे जानकारी भए तापनि दानमा रुचि कम भएको देखाएको छ । २५२ उत्तरदातामध्ये ५६ प्रतिशत आँखा दानबारे सचेत देखिएका छन् भने ४५ (१७.९ प्रतिशत) उत्तरदाताहरूले मात्र आँखा दानमा रुचि देखाएका छन् । सहभागीहरूको चार हजार ४६७ अर्थात् ९१ प्रतिशतले आँखा स्वास्थ्य परामर्श लिएका थिए जसमध्ये अधिकांश तीन हजार २१४ (७१.१९ प्रतिशत) आँखा अस्पताल गएका थिए । परामर्श नलिनेहरूमध्ये धेरैले आवश्यकता महसुस नहुनु, समयको अभाव, वैकल्पिक औषधिमा निर्भरता, साथीको अनुपस्थिति र सहभागीहरूको आर्थिक बाध्यताहरू रहेको बताएका थिए ।      स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताए । उनले यो अध्ययन आँखा स्वास्थ्य सेवाका लागि नीति तथा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने बताए । उनले भने, 'काठमाडौं केन्द्रित महत्वपूर्ण आँखा अध्ययन सार्वजनिक भएको छ । अध्ययनले प्रारम्भिक जाँचले कतिपय आँखाको समस्याहरु हल भएर जाने हुनाले जनचेतनाको आवश्यकता रहेको देखाएको छ ।'      तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डा रीता गुरुङले काठमाडौंमा आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताइन् । उनले नसर्ने रोगको जोखिमजस्तै मोटोपना, उच्च रक्तचाप, मधुमेहलाई सम्बोधन गर्न ध्यान दिनुपर्ने धारणा राख्दै  प्रमुख आँखा रोगहरूबारे जागरूकता बढाउन, प्रारम्भिक हेरचाह खोज्न प्रोत्साहन गर्न, र आँखा दानप्रतिको बुझाइ र इच्छा सुधार गर्न सामुदायिक संलग्नता बढाउनुपर्ने बताइन् ।  

चितवनमा अन्तर्राष्ट्रिय चेन प्रवेश : सञ्चालनमा आयो ‘रोयल टुलिप’ पाँचतारे होटल

काठमाडौं । पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा लगानी बढिरहेको छ । पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै यो क्षेत्रमा लगानीकर्ताहरू आकर्षित हुँदै गएका छन् । यसै क्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पाँचतारे होटल रोयल टुलिप निर्माण भएर सञ्चालनमा आएको छ । झन्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका– ५, जनकौली सामुदायिक वन कार्यालयअगाडि नै केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा ल्याइएको हो । विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्सअन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्वबजारमा अझ प्रवर्द्धन गर्न सहयोग पुग्ने केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले बताए । उनकाअनुसार चितवनको पर्यटनको देशमै अलग भुमिका छ । निकुञ्जका होटल बन्द भएपछि पर्यटकलक्षित स्टार होटल सञ्चालनमा आएका थिए । यस कारण पर्यटकहरूको माग र चितवनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले पाँचतारे होटल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको उनले बताए । होटलका लगानीकर्ता शाह गैरआवासीय नेपालीहरूका एक अगुवा पनि हुन् । चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल मात्र चल्ने र खुल्ने गरेकाले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको साहको भनाइ छ । अध्यक्ष साहकाअनुसार निर्माण गरिरहेको पाँचतारेस्तरको रिसोर्ट पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो । चितवनमा लोकल ब्राण्डका होटलहरू मात्र रहेकोमा रोयल टुलिप खुलेसँगै अब पर्यटकलाई सहज हुनेछ । रिसोर्ट निर्माणसहित सबै गरेर अहिलेसम्म १ अर्ब ७५ करोडभन्दा बढी पुगेको साहले बताए । उनकाअनुसार पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरूको व्यवस्था गरिएको छ । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको हो । अध्यक्ष शाहले भने, ‘१७५ करोडको लगानी भइसकेको छ । अब यो भन्दा बढी लगानी गर्नुपर्ला भनेर हामीले अनुमान गरेका छैनौं । रुम प्राइजको कुरा गर्दा नेपालमै धेरै ठाउँमा लाख रुपैयाँ बराबरको रुमहरु छन् । यही मेघौली जाँदा लाख रुपैयाँदेखि ४०/५० हजारका रुम देख्न सकिन्छ । नगरकोट, लाकुरी भञ्ज्याङ, अरु तिर सबैतिर छ ।’ ‘सबैतिर सबै मन्छे जानसक्छ भन्ने त होइन तर मान्छेले प्राइज पे केका लगि गर्छ भने प्रोडक्टका लागि गर्छ । तपाईले सर्भिस दिन सक्नुभयो भने पे गर्नुपर्छ । हरेक गेष्टका पछाडी ६५ रुम छ, ९४ जना स्टाफ हुन्छ । अझ त्यो बढ्छ । एकजना गेष्ट राख्नका लागि झन्डै २ जना श्रमिक खटाउनुपर्छ । यदि राम्रो सर्भिस दिने हो भने पर्यटकहरुले पे गर्न गाह्रो हुँदैन’ उनले भने । उनकाअनुसार रिसोर्टमा लोकल प्रोडक्स जसरी प्रयोग भइरहेको छ । त्यसरी नै पहिलो प्राथमिकता रोजगारीमा स्थानीयलाई दिइएको छ । आजको दिनसम्म रिसोर्ट सञ्चालनमा ल्याउँदा ९४ जनाले काम गरिरहेको उनको भनाइ छ । हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा जिल्लाकै ठूला सभा हल, पाँच सय क्षमताको बैंक्वेट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्वीमिङ पुल, पाहुनाहरूका लागि डुङ्गा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ्ग टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्टजस्ता सेवाहरू उपलब्ध छन् । प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेस्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लव, चारवटा प्राइभेट स्वीमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेका छन् । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ । होटलभित्रका सबै संरचना प्रकृतिमैत्री छन् ।  

कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा १३ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकलाई विभिन्न पर्यटन सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले प्रदान गर्दै आएका केबलकार टिकट, स्काइ साइकलिङ, जिपलाइन टिकट तथा डाइभ–इन रेष्ट्रो सेवामा अधिकतम १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र बन्दिपुर केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन् । २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ३१७ एटिएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा दिँदै आएको छ । बैंकले आगामी दिनमा पनि सेवा विस्तार, सहकार्य र ग्राहक सुविधा थप सुदृढ गर्दै जाने प्रतिबद्धता जनाएको छ।