४  दिनको बिदाले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

काठमाडौं । लगातार ४  दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरू होटलमा कोठा नपाएर फर्कनु समेत परेको छ । बिहीबारदेखि बिदा भए पनि बुधबारबाट ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौंको सङ्ख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरवास (होमस्टे) छन् । पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक/दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताए । गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उनको भनाइ छ । ‘एकै पटक लामो बिदा भएर होला पाहुन थामि नसक्नु आउनुभएको छ, वरपरका खाली घरहरू पनि भएका छन्, होटल, होमस्टे कुनै पनि खाली छैनन्,’ अध्यक्ष पुनले भने, ‘मेरो सम्पर्कमा आएकै करिब १ सय जना पर्यटकले बास नपाएर फर्किनुभयो, अरू व्यवसायी साथीहरूको सम्पर्कमा आउनुभएका पाहुना पनि धेरैनै फर्किनु पर्यो, अब ढोरपाटन आउने पाहुनाले होटलको अवस्था बुझेर मात्रै आउन आग्रह गर्छौं ।’ ढोरपाटनमा १ रातमा ७०० जना पाहुन राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ । तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताए । अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उनको भनाइ छ । आफूले ८० जना पाहुना राखेको सुनाउँदै २०० जनालाई अन्य होटलमा पठाउनु परेको बताए । यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको उनको भनाइ छ । आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउँछन् । पछिल्लो समय बुर्तिबाङ-ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षसम्म सडकको दुरावस्था थियो । गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन घुम्न पुग्नुभएका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाए । १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गरे । बिहीबार ढोरपाटन पुगेकाहरूले मात्रै होटल पाएको खड्काले बताए । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतलता खोज्दै धेरै पर्यटक आउने गरेको बताए । एकै पटक पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भन्दै होटल व्यवसायीसँग सम्पर्क गरेर मात्रै ढोरपाटन आउन कायतले आग्रह गरे । 

क्यान्सरपीडित बालबालिकालाई निःशुल्क उपचार, वीर र कीर्तिपुर बर्न अस्पतालको क्षमता विस्तार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै स्वास्थ्य बीमा, आधारभूत अस्पताल, निःशुल्क क्यान्सर उपचार, डिजिटल स्वास्थ्य प्रणालीदेखि दुर्गम क्षेत्रमा एयर एम्बुलेन्ससम्मका महत्त्वाकांक्षी कार्यक्रम अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमका लागि मात्रै १५ अर्ब रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका छन् । विपन्न नागरिक उपचार, आमा सुरक्षा, निःशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ । रोगको बदलिँदो प्रकृति र लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवा प्याकेज परिमार्जन गर्ने जनाएको छ । निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै मानव विकास सूचकाङ्क कमजोर भएका प्रदेशका स्थानीय तहमा नयाँ आधारभूत अस्पताल निर्माण गरिने भएको छ । स्वास्थ्य सेवा गुणस्तर सुनिश्चित गर्न ‘राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण’ स्थापना गरिने भएको छ भने कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा टेलिमेडिसिन तथा भिडियो कन्सल्टेसनमार्फत विशेषज्ञ सेवा विस्तार गरिने घोषणा गरिएको छ । सरकारले सङ्घीय विशिष्टीकृत अस्पतालहरूमा जलन उपचार युनिट स्थापना गर्ने तथा वीर र कीर्तिपुर बर्न अस्पतालको जलन उपचार क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गरिने भएको छ भने बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार व्यवस्था गरिएको छ । नागरिकस्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका धुलिखेल सामुदायिक अस्पताल र‍ काठमाडौं इन्स्च्यिुट अफ चाल्ड हेल्थको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । त्यस्तै, तीलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत दिने घोषणा गरिएको छ । सरकारले ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ स्थापना गरी औषधि, रोग निदान सामग्री तथा स्वास्थ्यजन खाद्यान्नको गुणस्तर नियमन गर्ने भएको छ । साथै सम्पूर्ण स्वास्थ्य संस्थामा ंएक नागरिक, एक डिजिटल प्रोफाइल’ प्रणाली लागू गरिने भएको छ । सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा ‘सुलभ फार्मेसी’ सञ्चालन गरिने भएको छ भने राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिनेछ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान र साइक्लोट्रोन मेसिन खरिद तथा जडानका लागि ३२ करोड रुपैयाँ पुँजीगत अनुदान विनियोजन गरिएको छ । सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने नीति पनि लिएको छ । बुढानिलकण्ठ, कीर्तिपुर र पोखरामा आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्सा सेवा सञ्चालनमा ल्याइने भएको छ । मधेश प्रदेशका नारायणि अस्पताल, गजेन्द्र नारायण सिंह  र रामराजा प्रसाद सिंह एकेडेमीको पूर्वाधार विकास अघि बढाइने भएको छ भने कर्णालीका दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सुरु गरिने घोषणा गरिएको छ । स्वास्थ्यकर्मी प्रोत्साहनअन्तर्गत सरकारले नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर गरेको छ भने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरेको छ । सरकारले ल्याएको यो स्वास्थ्य बजेटलाई आधारभूत स्वास्थ्य पहुँच विस्तार, डिजिटल स्वास्थ्य प्रणाली विकास, विशेषज्ञ सेवा विस्तार तथा सामाजिक सुरक्षामुखी स्वास्थ्य सुधारको महत्वाकांक्षी योजनाका रूपमा हेरिएको छ ।

शिक्षामा २ खर्ब १८ अर्ब र खेलकुदमा ४ अर्ब बजेट, के-के छन् नयाँ योजना ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।  संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न १ अर्ब विनियोजन गरेको जानकारी दिए । त्यस्तै, सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएसलगायत चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म लक्षित छात्रवृत्ति कार्यक्रमका लागि ८ अर्ब ६० करोड छुट्याइएको छ । संगीत, कला तथा साहित्य अध्ययनलाई प्रवद्र्धन गर्ने नीति अन्तर्गत त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट तथा एथ्नोम्यूजिकोलोजी सेन्टर स्थापना गरिने जनाइएको छ । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत सहजीकरण गरिने तथा स्वदेशी र विदेशी प्राध्यापकबीच प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।  विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गर्न कानुनी व्यवस्था गरिने पनि उनले बताए । बजेटमा वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर दिने, कक्षा ५ देखि ८ सम्मका विद्यार्थी तथा शिक्षक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा मानव विकास सूचकांकमा पछाडि परेका समुदायका लागि आवासीय विद्यालय सञ्चालन गर्ने योजना पनि समेटिएको छ । उक्त कार्यक्रम चितवनका चेपाङ समुदायबाट सुरु गरिने जनाइएको छ । यसैगरी सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमार्फत १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने तथा प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने घोषणा गरिएको छ । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार दर्शक क्षमता भएका इनडोर मल्टिपर्पोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिने जनाइएको छ । त्यस्तै, मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला तथा फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने बजेटमा उल्लेख छ । सरकारले खेलकुदमा विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ । सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद तथा मधेस प्रदेशमा प्रस्तावित ११औं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पनि बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।