काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेकी छन् ।
आइतबार (आज) निरीक्षण गर्दै उनले अस्पतालको सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाहरू उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।
मन्त्री मेहताले अस्पताललाई भदौ महिनाको अन्त्यसम्म हस्तान्तरण प्रक्रिया सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशनसमेत दिएकी छन् ।
अस्पताल हस्तान्तरणपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालनसँगै सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उनले बताएकी हुन्।
स्थानीय नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले संघ, प्रदेश र सम्बन्धित निकायबीच समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने मन्त्री मेहताको भनाइ छ ।
त्यसैगरी, मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छन् ।
अवलोकनका क्रममा उनले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था तथा आगामी प्रक्रियाबारे जानकारी लिइन् ।
मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।