सम्पत्ति शुद्धीकरण कसुरमा कर्णलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा मनोज कुमार लाल कर्णलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीश नारायणप्रसाद पौडेल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजालासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम ( २)अदालतको आदेशमा धरौटी नबुझाएम थुनुवा पुर्जी थमाएर कारागारमा पठाउन आदेशमा उल्लेख गरिएको छ । कर्णले हिमालयन लाइफ इन्सुरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहँदा अन्य प्रतिवादीहरुसँगको मिलेमतोमा नेपाल रिइन्सुरेन्सको शेयरसमेत कर्नरिङ्ग गर्ने कार्यमा सहभागी भएको आदेशमा उल्लेख गरिएको छ । मूल्य उतारचढाव समेतको कसुरजन्य कार्यमा सहभागी भई व्यक्तिगत लाभ लिई हिमालयन लाइफ इन्सुरेन्सको विमा कोषको रकम दुरुपयोग गर्ने मनसायले रु। ७ करोड २२ लाख ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको कारोबार मार्फत गैरकानुनी सम्पत्ति आर्जन गरेको आदेशमा बताइएको छ ।
बुधबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले भाद्र १० गते बुधबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचना अनुसार, मिति २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित व्यवस्था बमोजिम मुस्लिम आयोगको सिफारिसमा यो निर्णय गरिएको हो । आयोगले यस वर्षको मोहम्मद जयन्ती भाद्र १० गते बुधबार परेको जानकारी गराएपछि मन्त्रालयले सोही अनुसार बिदाको निर्णय अघि बढाएको हो । यसैबीच, मोहम्मद जयन्तीको अवसरमा गृह मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
आकाशे पुलबाट बाटो काट्न भनेर सम्झाउँदा प्रहरीमाथि हातपात
काठमाडौं । बानेश्वरमा आकाशे पुलबाट बाटो क्रस गर्नु भनेर सम्झाउने प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । मंगलबार बिहान साढे ९ बजे बानेश्वरको थापागाउँ सडकखण्डबाट बाटो काट्दा प्रहरीलाई हातपात गर्ने घर भएका २७ वर्षीय राज कठायत पक्राउ परेका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले बिहानीको पिक आवरमा जथाभावी बाटो नकाटन भनेर सम्झाउँदा महिला सामुदायिक प्रहरीमाथि ती युवकले हातपात गरेको बताए । थापाका अनुसार युवकले महिला प्रहरीमाथि प्रहरीले भनेको मान्छु भन्दै हातपात गरेका थिए। प्रहरीले युवकलाई आकाशे पुलमाथिबाट बाटो काट्न आग्रह गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । कठायत जुम्ला तातोपानी गाउँपालिका २ का हुन् ।