बुधबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले भाद्र १० गते बुधबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचना अनुसार, मिति २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित व्यवस्था बमोजिम मुस्लिम आयोगको सिफारिसमा यो निर्णय गरिएको हो । आयोगले यस वर्षको मोहम्मद जयन्ती भाद्र १० गते बुधबार परेको जानकारी गराएपछि मन्त्रालयले सोही अनुसार बिदाको निर्णय अघि बढाएको हो ।

यसैबीच, मोहम्मद जयन्तीको अवसरमा गृह मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

Share News