तीन प्रकारका औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्ड पूरा नगरेका विभिन्न तीन प्रकारका औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

बजार अनुगमनका क्रममा राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार नपाइएका औषधि फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिइएको विभागले जनाएको छ । 

विभागले फिर्ता गर्न निर्देशन दिएका औषधिमा ओमिट्रोन सिरप, भोमिसेट सिरप र अल्कल–डी ५०० ट्याब्लेट रहेका छन् । नेसनल हेल्थकेयर प्रालि।, छत्रपाटी, काठमाडौं द्वारा उत्पादित ओमिट्रोन सिरप को ब्याच नम्बर ओएमएल २५०२२ रहेको छ । 

उक्त औषधि मुखबाट सेवन गर्ने घोलको परीक्षण तथा प्याकेजिङसम्बन्धी तोकिएको आवश्यकतासँग मेल नखाने पाइएको विभागले जनाएको छ ।

त्यस्तै टाइम फार्मास्युटिकल्स प्रालि।, गैँडाकोट–१०, नवलपरासी द्वारा उत्पादित भोमिसेट सिरप को ब्याच नम्बर भीएमएस–०१९ रहेको छ। उक्त औषधि पनि प्याकेजिङसम्बन्धी तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ ।

भारतको अल्केम हेल्थ साइन्स द्वारा उत्पादित अल्कल–डी ५०० ट्याब्लेट का ब्याच नम्बर २५४४२३५९ र २५४४२३५८ रहेका छन् । उक्त औषधिमा रहेको भिटामिन डीको मात्रा परीक्षण तोकिएको मापदण्डअनुसार नपाइएको विभागले जनाएको छ । यसको आयातकर्ता बालाजी मेडिसिन्स डिस्ट्रीब्युटर्स, पर्सा रहेको छ ।

विभागले यी औषधिको बिक्री, वितरण तथा प्रयोग नगर्न–नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । साथै बजारमा रहेका औषधि तत्काल फिर्ता गरी त्यसको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ ।

Share News