सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उनले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि सदनमा पेस गर्ने छिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जेनजी शहीद परिवार र घाइतेका माग कार्यान्वयन गर्न समर्पित संयन्त्र गठन गरिने

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र ( डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ । गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो ।  छलफलमा ८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट ८२ मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र ८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो ।  माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।  साथै, शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ । छलफलमा जेनजी परिषद् घोषणा, जेनजी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेनजीको शालिक निर्माण तथा जेनजी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ । उक्त विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा छलफलमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता भएको छ ।  जेनजीका मागहरू शीघ्र सम्बोधन गर्न सबै जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समान बुझाइका साथ समन्वयात्मक र एकीकृत ढङ्गले क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

जहाँ केही छैन, त्यहाँ उभिएर सुन्दर सपना देख्नु नै नेतृत्व हो : डा. रामकण्ठ माकजु

काठमाडौं । नेपाल जन–प्रशासन संघले धुलिखेल अस्पतालका संस्थापक एवं वरिष्ठ चिकित्सक डा. रामकण्ठ माकजु श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार २०८१’ बाट सम्मान गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. श्रेष्ठलाई सो सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै डा. श्रेष्ठले यो पुरस्कार आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभएर इमान्दारीपूर्वक गरिएको काम र सेवाप्रतिको समर्पणको कदर भएको बताए । यसले आफूलाई भविष्यमा अझ जिम्मेवार भएर अघि बढ्ने ऊर्जा थपेको उनको भनाई थियो ।  विगत ३० वर्षदेखि सानो कर्मथलोमा निरन्तर सेवामा समर्पित डा. श्रेष्ठले नेतृत्वलाई एउटा सिर्जनात्मक कार्यको रूपमा व्याख्या गरेका छन् । ‘नेतृत्व भनेको आवश्यकता भएको तर केही पनि नरहेको ठाउँमा उभिएर एउटा सुन्दर सपना देख्नु र त्यसलाई विपनामा परिणत गर्नु गर्नु हो,’ उनले भने ।  एउटा सानो टोलीबाट सानो डाँडामा सुरु भएको अस्पताललाई आज झण्डै १७ सय कर्मचारीहरू कार्यरत रहेको उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न सफल भएको उनले बताए ।  साथै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा विगत २५ वर्षभित्र २० हजार युवाहरूलाई विभिन्न स्वास्थ्य विधामा शिक्षित एवं प्रशिक्षित गराउन सफल भएको पनि उनले प्रस्तुत गरे ।  दिगो संस्था निर्माण र सकारात्मक दृष्टिकोणको आवश्यकता औंल्याउँदै डा. श्रेष्ठले नेतृत्व र व्यवस्थापनमा कमजोरी खोज्नुभन्दा सबल पक्षलाई उजागर गर्नुपर्नेमा उनले जोड दिएका छन् ।  नेपाल कडा परिश्रम गर्ने हिम्मत भएका मानिसहरूको देश भएको उल्लेख गर्दै उनले मुलुकको मुख्य समस्या व्यक्ति वा समुदायमा नभई अनुकरण गर्न मिल्ने बलिया संस्थाहरू निर्माण गर्न नसक्नुमा रहेको औंल्याएका छन् । ‘हाम्रो देशमा सयौं वर्षसम्म टिकिरहने संस्थाहरू एकदमै थोरै छन्, त्यसैले अबको प्रयास सिक्न र सिकाउन सकिने दिगो संस्थाहरूको सिर्जना गर्नुतर्फ केन्द्रित हुनुपर्दछ,’ डा. श्रेष्ठले भने ।