अर्थमन्त्रीले बोलाए आईटी क्षेत्रका दुई दर्जन स्टार्टअप सञ्चालकलाई
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन् । साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ ।
भदौ २५ देखि एमाले केन्द्रीय कमिटी बैठक, त्यसअघि कार्यदल र सचिवालय बस्ने प्रस्ताव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले सोमबार गुण्डुबाट टेलिफोनमार्फत महासचिव पोखरेललाई आगामी भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिएका हुन् । पार्टीभित्र पछिल्लो समय देखिएका विभिन्न विषयमा छलफल तथा संगठनात्मक कामलाई अघि बढाउने उद्देश्यले केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो । अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघि पूरा गर्नुपर्ने सांगठनिक तथा राजनीतिक विषयबारे ओलीसँग छलफल गरेका छन् । पोखरेलले केन्द्रीय कमिटी बैठकभन्दा अघि पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि सचिवालय बैठक बोलाएर कार्यदलबाट आएका प्रस्ताव तथा अन्य सांगठनिक विषयमा छलफल गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा लैजान उपयुक्त हुने पोखरेलको धारणा छ । महासचिव पोखरेलले पछि अध्यक्ष ओलीलाई भेटेरै कार्यदल र सचिवालयको बैठकको प्रक्रिया पूरा गरेर केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव गरेका हुन् । उनका अनुसार पार्टी पुनर्गठनसँग सम्बन्धित विषयमा कार्यदलले आवश्यक गृहकार्य गरेपछि त्यसलाई सचिवालयमार्फत संस्थागत छलफलमा लैजान सहज हुनेछ । यसअघि पार्टीभित्र संगठनात्मक पुनर्गठन तथा आन्तरिक व्यवस्थापनका विषयमा छलफल गर्न कार्यदल गठन गरिएको थियो । अब उक्त कार्यदलको बैठक, त्यसपछि सचिवालय बैठक र अन्तिममा केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी अघि बढाउने विषयमा नेतृत्वबीच छलफल भइरहेको छ । अध्यक्ष ओलीले भने भदौ २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी अघि बढाउन निर्देशन दिइसकेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा पुनर्गठनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित, अब भदौ १० गते बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारणले निर्धारित मिति र समयमा बस्न नसक्ने भएपछि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।