उद्घाटनको एक महिनापछि निजी सवारीका लागि नागढुङ्गा सुरुङमार्ग खुला
काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा निजी सवारीसाधन आवतजावतका लागि खुला गरिएको छ । उद्घाटनको करिब महिना दिनपछि परीक्षण सम्पन्न भई निजी सवारीसाधनका लागि मात्रै सोमबार (आज)बाट सुरुङमार्ग खुला गरिएको नागङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना प्रमुख सौजन्य नेपालले बताए । ‘हामीले आपतकालीन उद्धारको लाइभ घटना गराएर प्रशिक्षण सम्पन्न गरेलगत्तै आजबाट जिप, कार, भ्यान जस्ता साना सवारीका लागि सुरुङबाटैआवतजावत सुरु गरेका हौं,’ निर्देशक नेपालले भने । अब क्रमशः ठूला सवारीसाधनका लागि सुरुङ खोलिने उनले जानकारी दिए । निर्देशक नेपालका अनुसार उद्घाटनपश्चात सुरुवाती चरणमा सोमबार बिहान ९ बजेदेखि अत्यावश्यकका सवारीसाधनसहित ९ सिट यात्रु क्षमताका निजी सवारीसाधन आवतजावत गराइएको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतकाको उपस्थितिमा गत साउन १३ गते सुरुङमार्ग उद्घाटन गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलासम्म पुगिने सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ ।
२७ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा दुई धार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद थप चर्किएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यहरूलाई छुट्टाछुट्टै ह्वीप जारी गरेका छन् । राप्रपा प्रदेश प्रमुख सचेतक कुमारी तामाङले आइतबार आफ्ना सांसदलाई मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् । मतदानमा सहभागी हुन नसक्ने अवस्थामा तटस्थ बस्न वा प्रदेशसभा बैठकमा अनुपस्थित हुनसमेत उनको निर्देशन थियो । तर, त्यसको विपरीत डम्बर तामाङले पनि प्रमुख सचेतककै हैसियतमा अर्को ह्वीप जारी गर्दै प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन निर्देशन दिएका छन् । उनले आफ्नो पत्रमा भदौ ७ गतेको बैठकको निर्णय, दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधानअनुसार उक्त निर्देशन दिइएको उल्लेख गरेका छन् । मुख्यमन्त्री थापाले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मतको पूर्वसन्ध्यामा राप्रपाबाट जारी भएका दुई फरक ह्वीपले प्रदेशसभामा पार्टीको औपचारिक धारणा र सांसदहरूको मतदानबारे अन्योल बढाएको छ । यसअघि पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र मुख्यमन्त्रीलाई समर्थन गरेको आरोपमा राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने तथा पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको थियो । बागमती प्रदेशसभामा राप्रपाका तीन सांसद पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएर मन्त्री बनेका छन् । उनीहरूको भूमिकालाई लिएर पार्टीभित्र देखिएको मतभेद अहिले मुख्यमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा थप सतहमा आएको हो ।