शशिधर शर्मा २ करोड धरौटीमा रिहा
काठमाडौं । कर्जा दुरुपयोग आरोपमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशीधर शर्मा धरौटीमा रिहा भएका छन् । मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत असार ३० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शर्मालाई पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो। प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्। उनी एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्षसमेत हुन्।
नेपाल टेलिकमको नयाँ सुविधा : हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउन मिल्ने
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई रेकर्ड गरिएको भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आईभिएर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समयदेखि आन्तरिक परीक्षणका रूपमा सञ्चालन गर्दै आएको यो सेवालाई अब व्यावसायिक रूपमा ग्राहकका लागि उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमका अनुसार यस सेवामार्फत अधिकतम एक मिनेटसम्मको रेकर्ड गरिएको सूचनामूलक वा प्रवर्द्धनात्मक भ्वाइस सन्देश एकैपटक ठूलो संख्यामा पठाउन सकिनेछ । टेलिकमका अनुसार आउटबाउन्ड आईभिएर सामूहिक सूचना प्रवाहका लागि उपयोगी सेवा हो । विभिन्न संघ–संस्था, व्यवसाय, शैक्षिक संस्था वा सेवा प्रदायकले सूचना, परीक्षाको नतिजा, कार्यक्रमको जानकारी वा प्रचार–प्रसारसम्बन्धी सन्देश हजारौँ व्यक्तिसम्म एकैपटक पुर्याउन सक्नेछन् । यो सेवा लिन इच्छुक कार्यालय, संस्था वा व्यवसायीले फोन गर्नुपर्ने नम्बरहरूको सूची र पठाउनुपर्ने भ्वाइस फाइल नेपाल टेलिकममा उपलब्ध गराई तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । यस सेवामार्फत कल जाँदा प्राप्तकर्ताको मोबाइल वा टेलिफोनमा सन्देश पठाउने संस्था वा सेवा प्रदायकको नाममा दर्ता भएको नम्बर नै कलर आईडी का रूपमा देखिने नेपाल टेलिकमले जनाएको छ । हालका लागि सेवा लिन इच्छुक ग्राहकले दूरसञ्चार कार्यालय, सुन्धारा पुगेर तोकिएको फाराम भरी सेवा लिन सक्नेछन् । नेपाल टेलिकमले स्वचालित रूपमा ठूलो संख्यामा कलमार्फत सूचना पठाउने सेवाको माग आगामी दिनमा बढ्दै जाने अपेक्षा गरेको छ ।
स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषधको कारोबारी खोज्न जाँदा स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौं महानगरपालिका १५ स्थित चमतीबाट ५२ वर्षीय मा यागुबीलाई ३१ लाख नगदसहित पक्राउ गरेको हो । यागुबी चौमतीमा घर भाडामा लिएर बस्दै आएका थिए । घर खानतलासी गर्दा कोठा भित्रबाट लागु औषध नभेटिएको तर स्रोत नखुलेको रकम भेटिएको प्रहरीले जनाएको छ । लागुऔषध ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार उनी हालसम्म ६ पटक नेपाल आएर फर्केको देखिन्छ । पछिल्लो पटक जुलाई २३, २०२६ मा आएको अध्यागमनको रेकर्डबाट देखिन्छ । उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। यागुबीकाे साथबाट प्रहरीले नेपाली नगद ३१ लाख, पासपोर्ट थान १, सुन काट्न प्रयोग गरिने कैची थान १, ह्याम्मर थान १, डिजिटल तराजु थान १, क्यालकुलेटर थान १, विभिन्न कम्पनीका मोबाइल थान ४, एनआइएमबी बैँकको चेकबुक थान २ र एनआइसी बैंकको चेकबुक थान १ बरामद गरेकाे छ ।