काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
उक्त कसुरमा उनीरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल रहेका छन् । उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार थिए ।
त्यस्तै, ललितपुर महानगरपालिका–२ बस्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छन् । उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार रहेकी थिइन् ।
बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार पनि पक्राउ परेका छन् ।
त्यस्तै, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थायी वतन भएकी तथा हाल भुम्लुटार–६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ पनि पक्राउ परेकी छन् । उनीमाथि पनि बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोप छ ।
प्रहरीका अनुसार चारै जनालाई सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।