'आउट सोर्सिङबाट आएका श्रमिकका हकमा रोजगारदाता दायित्वबाट पन्छिन मिल्दैन'

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ‘आउट सोर्सिङ’मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले यस्तो बताएका हुन् ।

उनले आउट सोर्सिङबाट आएको श्रमिक भए पनि उसको सुरक्षा, पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको भएको स्पष्ट पारे ।

'आउट सोर्सिङबाट काम लगायौँ भन्दैमा रोजगारदाता आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । श्रमिक ल्याउँदै गर्दा आउट सोर्सिङ कम्पनीले त्योअनुसारको पैसा दिएको छ कि छैन, त्यो बिल भर्पाइ हेर्ने जिम्मा त तपाईंको हो नि,' उनले भने ।

उनले अदक्ष श्रमिकका हकमा रोजगारदाताले सुरुका तीन महिना आवश्यक तालिम उपलब्ध गराउनुपर्ने बताए । त्यसपछि राज्यले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने व्यवस्था कार्यान्वयनमा समस्या देखिएको उनले उल्लेख गरे । 

महानिर्देशक पाण्डेले श्रम ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याको समाधानका निम्ति श्रमिक र रोजगारदाता दुवैलाई कानुनबारे जानकारी र सचेत गराउन आवश्यक रहेको बताए । 

Share News