नापीका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बिगो, श्रीमती पनि प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडी विरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार साहले सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।

आयोगले २०४६ वैशाख १६ देखि २०८१ जेठ ३२ गतेसम्म को अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो । उक्त अवधिमा साह र उनको एकासगोल परिवारको वैधानिक आय तथा खर्चको विश्लेषण गर्दा आयभन्दा खर्च अत्यधिक रहेको पाइएको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा साहले पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, शेयर बिक्री, कृषि, छात्रवृत्ति, ब्याज, बीमा परिपक्व तथा समर्पण, ऋण–सापटीलगायत विभिन्न स्रोतबाट कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण–सापटी भुक्तानी, बैंक मौज्दात तथा लगानीलगायतमा ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको छ ।

यसरी वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी खर्च तथा लगानी गरेको देखिएको अख्तियारको भनाइ छ ।

आयोगका अनुसार उक्त रकमको स्रोत पुष्टि हुन नसकेको र सम्पत्ति विवरणसँग समेत मेल नखाने देखिएपछि साहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालिएको हो ।

अख्तियारले साहलाई बिगोबमोजिम कैद तथा जरिवाना, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत र झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा समेत थप सजायको मागदाबी गरेको छ ।

साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत सम्पत्ति खरिद तथा लगानी गरिएको देखिएको आयोगले जनाएको छ । सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमिन्त्रा देवी साहलाई समेत प्रतिवादी कायम गरिएको छ ।

Share News