काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले प्रतिनिधि सभाका सदस्य ऐन महरले सदनमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको कडा शब्दमा भर्त्सना गरेका छन् ।
आइतबार अत्तरियामा महाकाली यातायातको ना ९५६ नम्बरको बस दुर्घटना भएको विषयलाई लिएर महरले सदनमा ‘चालकले गाडी ब्याक गरेर मारेको’ भनी दिएको अभिव्यक्ति तथ्यहीन, गैरजिम्मेवार र श्रमिकको भावनामाथि चोट पुर्याउने खालको रहेको अध्यक्ष सिटौलाले बताएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिटौलाले भनेका छन्, ‘सदनजस्तो गरिमामय ठाउँमा बसेर बिना तथ्य र प्रमाण एक राष्ट्रसेवक श्रमिक मजदुरलाई सिधै ‘हत्यारा’ को उपमा दिनु लज्जास्पद र नैतिकहीन कार्य हो । राजनीतिक लोकप्रियताका लागि भिड उचाल्ने र उत्तेजित बनाउने यस्ता अभिव्यक्तिले समाजमा अराजकता निम्त्याउँछ ।’
अध्यक्ष सिटौलाले दुर्घटना हुनु दुःखद भएको र मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको सत्यतथ्य छानबिन नगरी हचुवाको भरमा बोल्नुले माननीयको संस्कार र मर्यादामाथि नै प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
‘एउटा चालक आफ्नो परिवारको सुख र यात्रुको सुरक्षाका लागि भोक, तिर्खा र निद्रा नभनी सडकमा खटिएको हुन्छ। कसैले पनि रहरले दुर्घटना गराउँदैन । तर, विडम्बना ! आज देश चलाउने ऐन बनाउने ठाउँमा बसेका व्यक्तिले नै मजदुरलाई अपराधी करार गर्दै कारबाहीको माग गर्नु विडम्बनापूर्ण छ,’ सिटौलाले भने ।
महासंघले उठाएका मुख्य चार माग
अध्यक्ष सिटौलाले दुर्घटनापछि देखिएका घटनाक्रमबारे चार मुख्य विषय उठाएका छन् ।
१. सत्यतथ्य छानबिनको माग : दुर्घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र चालक दोषी भए कानुनबमोजिम कारबाही गर्नुपर्ने, तर ‘ब्याक गरेर मारेको’ भन्ने झुटो भाष्य बनाएर मजदुरको मानमर्दन गर्न नहुने उनको भनाइ छ।
२. सम्पत्तिको सुरक्षा : दुर्घटनाको बहानामा करोडौँ रुपैयाँ लगानी भएका सवारीसाधन जलाउने, तोडफोड गर्ने र चालकमाथि आक्रमण गर्नेहरूलाई कडा कानुनी कारबाही गर्नुपर्ने तथा क्षतिपूर्ति भराउने व्यवस्था गर्न उनले चुनौती दिएका छन्।
३. मजदुरको योगदानको सम्मान : देशको अर्थतन्त्र र विकासमा चालक तथा सहचालकको ठूलो योगदान रहेको भन्दै उनीहरूलाई अपराधीको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताएका छन्।
४. संवैधानिक मर्यादाको प्रश्न : निजी सम्पत्तिमा आगजनी गर्ने अधिकार संविधानको कुन धाराले दिएको हो भन्दै उनले प्रश्न उठाएका छन्।
अन्त्यमा अध्यक्ष सिटौलाले सांसद ऐन महरलाई आफ्नो नामअनुसार ‘ऐन’ र नियमको मर्यादा कायम राख्दै तथ्यका आधारमा मात्र अभिव्यक्ति दिन र यातायात क्षेत्रका समस्या समाधानमा रचनात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।
‘राजनीति गर्ने नाममा श्रमिकको टाउकोमा टेकेर लोकप्रिय बन्ने सपना नदेख्नुहोस्, सद्बुद्धि आओस्,’ अध्यक्ष सिटौलाले चेतावनी दिएका छन् ।