देशभर मनसुनी वायुको प्रभाव कायम, यी ४ प्रदेशमा वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली रहेको छ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग एवं गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । रातिका समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग एवं बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज ११ सांसदले प्रश्न सोध्ने, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रश्न सोध्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णहरि बुढाथोकी, नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङ तथा नेकपा (एमाले)बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न गर्ने भएका छन् ।  त्यस्तै, नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्ने भएका छन् ।  प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन् ।  बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१÷८२ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।  यसैगरी, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्नेछ । 

काठमाडौंमा डेङ्गी नियन्त्रणका लागि रेडक्रसको ‘खोज र नष्ट गर’ अभियान

काठमाडौं । काठमाडौंमा डेङ्गी ज्वरोको संक्रमण बढ्न थालेसँगै नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले जोखिमयुक्त क्षेत्रहरूमा ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान आरम्भ गरेको छ । यसै अभियानअन्तर्गत मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं. १६ र १७ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा रहेका गाडी वर्कसप, फलफूल पसल र कवाडी गोदाम क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।  उक्त अभियानमा रेडक्रस उपशाखाका स्वयंसेवक, युवा रेडक्रस सर्कल, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो । नेपालमा साउनदेखि असोजसम्मको समयलाई डेङ्गी सार्ने लामखुट्टे वृद्धि हुने मुख्य यामका रूपमा लिने गरिन्छ ।  डेङ्गी लामखुट्टेको टोकाइबाट हुने संक्रमणले महामारीको रूप लिन नपाओस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटीले यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।