काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहु अलैहिवसल्लम (रसुल)को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुस्लिम समुदायले सन्देष्टाका रूपमा पैगम्बर मोहम्मदलाई मान्ने गर्छ । उनको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि उनी मदिना पुगेका थिए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको मानिन्छ । हाल हिजरी संवत् १४४८ चलिरहेको छ ।
मक्का र मदिना मुस्लिम समुदायका पवित्र स्थल हुन् । मुस्लिम समुदायको धार्मिक विश्वासअनुसार पैगम्बर मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरण भएको थियो ।
कुरान अवतरणपछि मक्का–मदिना इस्लाम धर्मावलम्बीका प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थल मानिन्थ्यो । यही कारण इस्लाम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक मक्का–मदिना पुगेर हज गर्ने इच्छा राख्ने गर्छन् ।
इस्लाम धर्ममा महत्वपूर्ण योगदान पु¥याएका पैगम्बर मोहम्मदका उपदेश तथा शिक्षालाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा आज ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सरकारले मोहम्मद जयन्तीको अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मुस्लिम समुदायका लागि मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।