रसुवा बाढीपछि उद्धारका लागि यस्तो छ सरकारको तयारी

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उद्धार तथा राहतका लागि तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा उद्धार र राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।  सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई पनि सक्रिय बनाएको छ। साथै, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि देशभरका हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

रसुवाको नदी किनारमा रहेका बजार बाढीले बगायो

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवाको नदी तटीय ठूलो क्षेत्रमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अशोक थापाले ठूलो विनाशकारी बाढी आएको र कल्पना गर्न नसक्ने क्षति भएको बताए ।  नदी किनारामा रहेका सबै बस्ती र बजारमा पुरै क्षति पुर्‍याएको उनको भनाइ छ । उनले जनधनको ठूलो क्षति भएको अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरू बगाएको थापाले बताएका छन् ।  आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा तिब्बत क्षेत्रमा आकस्मिक बाढी आएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।

उद्धारमा दुई हेलिकप्टर, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार (आज) बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ । बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।  तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाढीका कारण सडकमार्गसमेत जोखिमपूर्ण बनेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेंसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन आग्रह पनि गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल उद्धार, खोज तथा राहत कार्य अघि बढाउन निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरेका हुन् । जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् ।  नेपाली सेनाले पनि आफ्ना जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाएको छ । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।  आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा खोजीमा प्रयोग गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन् ।