भोटेकोशी बाढी : प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूसहित उच्चस्तरीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले उद्धार कार्यलाई तत्काल तीव्र बनाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् । सचिवालयका अनुसार विशेषगरी भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिम व्यवस्थापनका सबै संयन्त्र परिचालन गरेको जनाएको छ ।

बाढीका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो ,  बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको हो ।  बाढीका कारण जनधनको ठूलो क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । विद्युत् प्रणालीमा परेको क्षति तथा प्रभावित आयोजनाबारे विस्तृत विवरण आउन अझै बाँकी रहेको छ । 

रसुवामा बाढीको बहाब घट्यो

काठमाडौं । रसुवामा आएको बाढीको बहाब घटेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले रसुवामा आएको बाढीको बहाब नुवाकोटतर्फ घट्दै गएको जानकारी दिए ।  नेपाली सेनाको बाढीले क्षति पुर्याएको क्षेत्रमा उद्धार गर्न तीन वटा हेलिकोप्टर परिचालित गरेको छ । सेनाका अनुसार एमआइ १७ सहित तीनवटा हेलिकोप्टर परिचालित छन् । स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा सेनाको हेलिकोप्टर परिचालित छन् ।  केही ठाउँमा सेनाको हेलिकोप्टर ल्याण्ड हुन नसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ । प्रहरीका तीन वटा युनिट बगाएको छ । केही प्रहरी सम्पर्कविहिनसमेत भएका छन् । स्याफ्रुबेसी, मैलुङ र टिमुरेमा रहेका प्रहरीका युनिट बगाएको प्रहरीले जनाएको छ ।