काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण र बेपत्ता व्यक्तिको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले सरकारले सबै पक्षसँग प्रभावकारी समन्वय गर्न नसक्दा देश–विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको बताए ।
उनले बाढी प्रभावित नागरिक आफ्नै पैसाले समेत आवश्यक सामग्री किन्न नसक्ने अवस्थामा पुगेको भन्दै धेरै ठाउँमा मानिसहरू भोकभोकै बस्नुपरेको दाबी गरे । विपद्को यस्तो अवस्थामा एकअर्कालाई दोषारोपण गर्नुभन्दा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
सांसद शर्माले सरकारले घोषणा गरेको एकद्वार राहत प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि बताए । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच आवश्यक समन्वय नहुँदा राहत वितरणमा समस्या देखिएको उनको आरोप छ ।
‘देश–विदेशबाट सक्दो सहयोग आइरहेको छ। तर सही ठाउँमा राहत नपुग्दा प्रभावित नागरिकले हामी भोकभोकै छौं, आफन्त हराएका छन् र राहत पाएका छैनौं भन्ने गुनासो गरिरहेका छन्,’ उनले भने ।
उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेमा सरकार चुकेको टिप्पणी गरे ।
सांसद शर्माले सरकारले परिणाममुखी काम गर्नुपर्ने भन्दै मन्त्रीहरू उद्धार र राहतमा भन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाए । ‘प्रचारबाजीमा सरकार लाग्नु भएन, मन्त्रीहरू पनि त्यसमा केन्द्रित हुनु भएन,’ उनले भने ।