शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले संयुक्त रुपमा बाढीपीडितलाई दिए १ करोड ५१ लाख

काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

मंगलबार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा तथा सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीहरूले जनाएका छन् ।

शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढीबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेका छन् ।

साथै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सहयोग तथा प्रभावकारी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् । 

Share News