खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्त बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ । सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ । पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ । कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको दायरामा ल्याइएको उल्लेख गरेको छ । विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्मरण गराएको छ । उपत्यकाका कीर्तिपुर, कलंकी, नयाँ बसपार्क, बालाजु, कोटेश्वरलगायत मुख्य क्षेत्रमा ४ वटा विशेष टोली परिचालन गरिएको छ । विभागका अनुसार अनुगमन क्रममा अनावश्यक भण्डारण गरेको वा ग्यास लुकाएको पाइए ३ लाख रुपैयाँसम्म जरिवानासहित कडा कानुनी कारबाही गरिनेछ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । अत्यधिक गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो । यस्तै, नेपाल आयल निगमले सोमबार विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको छ । आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उनले बताए । काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।
देशकै पहिलो बलम्बु ‘फ्लाइओभर’ तयार (फोटो फिचर)
काठमाडौं । नेपालको सडक सञ्जालमा बहुप्रतीक्षित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुस्थित ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । मुलुककै पहिलो आधुनिक फ्लाइओभरका रूपमा रहेको यस संरचनाले काठमाडौंको प्रवेशद्वारमा हुने ट्राफिक जामको समस्यालाई सदाका लागि अन्त्य गर्ने विश्वास गरिएको छ । आयोजनाका अनुसार फ्लाइओभरको कालोपत्रे गर्ने काम सकिएसँगै सडक बत्ती, ट्राफिक लाइट, सडक चिह्न र डिभाइडर राख्ने जस्ता सबै फिनिसिङका कामहरू सम्पन्न भइसकेका छन् । अहिले यो फ्लाइओभर सञ्चालनका लागि पूर्ण रूपमा तयारीअवस्थामा रहेको छ । १८० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको यस फ्लाइओभरले त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग सिधा जोड्नेछ । यसले गर्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू कुनै अवरोध बिना सुचारु रूपमा गुड्न पाउनेछन् । नागढुङ्गाको घुमाउरो र जोखिमपूर्ण सडकको विकल्पका रूपमा तयार भइरहेको सुरुङमार्ग आयोजनाको यो एउटा महत्वपूर्ण हिस्सा हो । फ्लाइओभर सञ्चालनमा आएपछि थानकोट-बलम्बु क्षेत्रमा हुने सवारी चाप उल्लेख्य रूपमा घट्ने र इन्धन तथा समयको समेत ठुलो बचत हुने अपेक्षा गरिएको छ ।
नेपालमा साना गाडीको कथा बदल्ने ह्युन्डाई स्यान्ट्रो
काठमाडौं । नेपाली साना गाडीको बजारमा नयाँ पहिचान स्थापित गर्न सफल ह्युन्डाई स्यान्ट्रोले २५ वर्षे यात्रा पूरा गरेको छ । सन् १९९९ मा ह्युन्डाई इन्डियाले पहिलो मोडेलका रूपमा सार्वजनिक गरेको स्यान्ट्रो नेपालमा प्रवेश गर्दा साना गाडीको बजारमा जापानी ब्रान्डहरूको प्रभुत्व रहेको थियो । स्यान्ट्रो नेपालमा प्रवेश गरेसँगै भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकास हुँदै थियो । दैनिक प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको आरामदायी स्यान्ट्रो सुरुदेखि नै फरक पहिचान बनाउन सफल भयो । नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार बनेसँगै यो मोडेल ह्युन्डाई र नेपाल दुवैका लागि गर्वको विषय बनेको थियो । स्यान्ट्रोले नेपाली ग्राहकहरूको ह्याचब्याकप्रतिको धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो तथा नेपाली सडक र पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दिएको थियो । समयसँगै स्यान्ट्रो केवल एउटा सवारीसाधन मात्र नभई नेपाली परिवारहरूको विश्वासिलो साथीका रूपमा स्थापित भयो । स्यान्ट्रोबाट सुरु भएको यही भरोसाको आधारमा ह्युन्डाईले नेपालमा आफ्नो बजार विस्तार गर्दै आएको छ । आज स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा ह्युन्डाईले एक प्रतिष्ठित मोडेल मात्र होइन, त्यसबाट सुरु भएको विश्वासको विरासतलाई समेत सम्मान गरिरहेको जनाएको छ । यस विशेष अवसरमा ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका ह्युन्डाई स्यान्ट्रो प्रयोगकर्ताहरूलाई ह्युन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । छनोटमा परेका ग्राहकहरूले ह्युन्डाईद्वारा तयार गरिएको विशेष सरप्राइजको अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।