काठमाडौं । मोरङ र आसपासका क्षेत्रको विद्युत् माग सम्बोधन गर्दै आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन मोरङको कानेपोखरी गाउँपालिका-२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने तयारी गरिएको छ ।
सबस्टेसन चार्ज गर्ने क्रममा पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहबी-दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा प्रसारण लाइन जोड्ने र छुट्याउने काम गरिनेछ । दुहबी-दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत् आपूर्ति गरिनेछ ।
उक्त कार्यका लागि शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म दुहबी-दमक प्रसारण लाइन बन्द गरिनेछ । यसका कारण सो अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
सबस्टेसनमा १३२/३३ केभी क्षमताका ६३ एमभीएका दुईवटा र ३३/११ केभी क्षमताको २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए रहेको छ ।
यसअघि उक्त क्षेत्रमा दुहबी-रानी-रङ्गेली ३३ केभीको करिब ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । केरौन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति हुने लाइनको दूरी घट्ने र त्यसबाट आपूर्ति प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ ।
सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन् । त्यस्तै, केरौन-रङ्गेली र केरौन-विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ ।
आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।