मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण
काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले अमर जेन्जी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ मौनधारण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राठीले जेन्जी शहीदहरूको बलिदानबाट प्राप्त परिवर्तनलाई आत्मसात् गर्दै उनीहरूको सपना साकार पार्नुपर्नेमा जोड दिए । शहीदका बाँकी रहेका सपना पूरा गर्न र मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूका तर्फबाट हरसम्भव सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे । श्रद्धाञ्जली कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीका साथै निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्ष विकास कुमार बेगवानी, महासचिव संजय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईं लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खरानीबाट ठडियो मीनबहादुरको साम्राज्य, अब ७७ वटै जिल्लामा भाटभटेनी
काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको देशव्यापी ‘जेनजी’ आन्दोलनले हिंसात्मक रूप लिएपछि त्यसको राँको भाटभटेनी सुपरमार्केटसम्म पुग्यो । मीनबहादुर गुरुङले चार दशकसम्म पसिना, संघर्ष र लगनशीलताले उभ्याएको व्यावसायिक साम्राज्य क्षणभरमै क्षतविक्षत भयो । गत वर्षको भदौ २३ र २४ गते आगोको धुवाँ, तोडफोडको आवाज र लुटपाटको दृश्यले नक्सालदेखि बिर्तामोडसम्मका भाटभटेनीका स्टोरहरू युद्ध मैदानजस्तै देखिन्थे । आन्दोलनको रापले देशभरका व्यवसायी त्रसित भइरहेका बेला नेपालको व्यावसायिक सफलताको एउटा प्रतीक बनेको भाटभटेनी पनि त्यसबाट अछुतो रहन सकेन । एउटा मात्रै शाखा होइन, देशभरका झन्डै २० वटा स्टोरमा क्षति पुग्यो । तीमध्ये १२ वटा स्टोर त हेर्दाहेर्दै पूर्णरूपमा जलेर खरानीको थुप्रोमा परिणत भए । भौतिक क्षति मात्रै करिब ११ अर्ब रुपैयाँको थियो । भाटभटेनीका अनुसार क्षतिको मूल्यांकन करिब १० अर्ब ८६ लाख रुपैयाँ पुगेको थियो । तर, जलेका भवन, सामान र संरचनाभन्दा ठूलो क्षति त्यसमा आश्रित हजारौं कर्मचारीको भविष्यमा परेको थियो । व्यवसाय जलेको थियो, तर सपना जलेको थिएन । त्यसको प्रमाण आज देखिन्छ । विनाश भएको एक वर्ष नपुग्दै खरानीबाट उठेर भाटभटेनीले फेरि आफ्ना स्टोरहरू सञ्चालनमा ल्याएको छ । जहाँ केही महिनाअघि आगोको मुस्लो देखिन्थ्यो, त्यही ठाउँमा अहिले ग्राहकको चहलपहल फर्किएको छ । जहाँ भग्नावशेष थियो, त्यहीँ फेरि व्यापार सुरु भएको छ । यो केवलसुपरमार्केट पुनर्निर्माणको कथामात्र नभईसंकटपछि फेरि उभिन सकिन्छ भन्ने एउटा व्यावसायिक उदाहरण पनि हो । भदौ २३ गतेको त्यो दिन सम्झिँदा भाटभटेनीका धेरै कर्मचारीका लागि घटना अझै ताजा छ । शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन अचानक हिंसात्मक बनेपछि भाटभटेनीका स्टोरहरूमा आगजनी र तोडफोड सुरु भयो । काठमाडौंका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारका प्रमुख स्टोरहरूमा ठूलो क्षति पुग्यो । काठमाडौं बाहिर पोखरा, चितवन, हेटौंडा र विराटनगरलगायतका स्टोरहरू पनि आन्दोलनको निशानामा परे । कतिपय ठाउँमा कर्मचारीहरूले आफ्नो ज्यान जोगाएर भाग्नुर्पयो । केही घण्टामै वर्षौँ लगाएर बनाइएका संरचना ध्वस्त भए । सामान जले, भवन जले, करोडौंको लगानी खरानी भयो । तर, त्यस विनाशसँगै एउटा अर्को प्रश्न पनि उभियो, अब भाटभटेनी के हुन्छ ? चार दशकमा बनाएको व्यावसायिक संरचना एकै दिनमा तहसनहस भएपछि त्यसलाई फेरि उठाउनु सामान्य चुनौती थिएन । हजारौं कर्मचारीको रोजगारी, आपूर्ति शृंखला, लगानी र ग्राहकको विश्वाससँग जोडिएको एउटा विशाल संरचना पुनः सञ्चालनमा ल्याउनु थियो । तर, भाटभटेनी यत्तिकैमा रोकिएन । विनाशको धुवाँ सेलाउँदै गर्दा पुनःनिर्माणको काम सुरु भयो । भत्किएका संरचना हटाइए, नयाँ संरचना उठाइए र विस्तारै स्टोरहरूमा फेरि बत्ती बल्न थाले । आज, भदौ २३ गते, त्यो विनाशको एक वर्ष पुग्न अब एक दिनमात्र बाँकी छ । एक वर्षअघि यही दिन भाटभटेनीको अस्तित्वमाथि ठूलो प्रश्न खडा भएको थियो । आज त्यही भाटभटेनी फेरि उभिएको छ । सायद यही यात्राले एउटा सरल कुरा सम्झाउँछ, आगोले भवन जलाउन सक्छ, तर आँट र लगनशीलताबाट बनेको सपना जलाउन सक्दैन । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले विकासन्युजसँगको कुराकानीमा भन्छन्, ‘त्यो बेलाको दृश्य हेर्दा लागेको थियो– के हामी फेरि उठ्न सकिएला र ? नगद लुटिएको थियो, अर्बौंका सामान स्वाहा भएका थिए, भवनहरू संरचनात्मक रूपमै कमजोर भएका थिए ।’ प्रारम्भिक आँकलनमा करिब ११ अर्बको क्षति देखियो । तर, गुरुङले हार मानेनन् । बरु क्षतिलाई शक्तिमा बदल्ने संकल्प गरे । ‘हामीले दुःख गरेर बस्ने समय नै पाएनौं, किनकि हामीमाथि १० औं हजार कर्मचारी र तिनका परिवारको जिम्मेवारी थियो,’ सीओओ पौडेलले भने । पुनः निर्माणमा १४ अर्ब लगानी विगत एक वर्ष भाटभटेनीका लागि केवल मर्मतको समय थिएन, यो त पुनर्जन्मको कालखण्ड थियो । क्षति भएको १० अर्बमा थप ३ अर्ब थपेर झन्डै १४ अर्ब रुपैयाँको लगानीमा स्टोरहरूलाई पहिलेभन्दा आधुनिक र भव्य बनाइएको छ । पुनःनिर्माणका क्रममा भवनहरूको स्तरोन्नति मात्र गरिएको छैन, उपभोक्ताको सुविधाका लागि प्रविधि र सौन्दर्यीकरणमा समेत भारी लगानी गरिएको भाटभटेनीको भनाइ छ । अहिलेका स्टोरहरू पहिलेभन्दा सुरक्षित, गुणस्तरीय र आकर्षक रहेका सीओओ पौडेलले बताए । भाटभटेनी सुपर मार्केटले आफ्नो भौतिक क्षतिपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै अधिकांश शाखाहरू पुनः सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अनुसार कुल १२ वटा प्रभावित शाखाहरूमध्ये असोज ५ गतेसम्म १० वटा शाखा पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । २७ मध्ये २३ वटा स्टोरहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् । हालसम्म उपत्यकाभित्रका महाराजगञ्ज, कोटेश्वर, बौद्ध र वेयरहाउस सञ्चालनमा आइसकेका छन् भने टंगाल शाखा असोज ५ गतेदेखि सञ्चालन हुने तयारीमा छ । उपत्यका बाहिर विराटनगर, बिर्तामोड, चितवन, पोखरा र बुटवलका शाखाहरू यसअघि नै खुलिसकेका छन् भने धरानको शाखा भोलिदेखि सञ्चालनमा आउने पौडेलले जानकारी दिए । झन्डै ८ अर्ब रुपैयाँको बीमा दाबी भाटभटेनीका अनुसार मेसिनरी र स्टकमा रहेका सामानसहित भौतिक रूपमा कुल १० अर्ब ८६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कम्पनीले उक्त क्षतिको शोधभर्नाका लागि बीमा कम्पनीहरूसँग झन्डै ८ अर्ब रुपैयाँको बीमा दाबी गरेको छ, जुन हाल प्रक्रियाकै क्रममा रहेको छ । कर्मचारी र तलबको व्यवस्थापन घटनाका क्रममा मानवीय क्षति भने नभएको कम्पनीले जनाएको छ । कुनै पनि कर्मचारी घाइते नभएको र उनीहरूलाई अन्य शाखाहरूमा स्थानान्तरण गरेर व्यवस्थापन गरिएको थियो । विशेष कुरा के छ भने शाखा बन्द भएको अवस्थामा पनि कर्मचारीहरूले घटना भएदेखि नै निरन्तर रूपमा आफ्नो तलब र सुविधा पाइरहेको पौडेलले उल्लेख गरे । कारोबारमा २० प्रतिशत गिरावट लामो समयसम्म शाखाहरू बन्द रहेका कारण कम्पनीको समग्र कारोबारमा असर परेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कारोबारमा करिब २० प्रतिशतले गिरावट आएको पौडेलले जानकारी दिए । घटनाको ७० दिनपछि मुख्य वेयरहाउस सञ्चालनमा आएपछि आपूर्ति व्यवस्थापनमा केही सहजता भएको र अहिले बिस्तारै ग्राहकहरूको संख्या पनि बढ्दै गएको बताइएको छ । कम्पनीले बाँकी रहेका दुई शाखाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ । मीनबहादुरको सपना अब ७७ वटै जिल्लामा वितण्डाको त्यो घाउलाई बिर्सिएर भाटभटेनी अब नयाँ गन्तव्यतर्फ लम्किएको छ । वार्षिक करिब ३९ अर्बको कारोबार गर्ने यो चेनले अबको केही समयभित्रै थप नयाँ स्टोरहरू सञ्चालनमा ल्याइने बताएको छ । भाटभटेनीका अनुसार चितवनको टाँडी र पोखराको लेखनाथमा यहीँ आर्थिक वर्षभित्र स्टोर खुल्नेछन् भने सातदोबाटो र भैंसेपाटीमा आगामी वर्षको योजना रहेको छ । अब ७७ वटै जिल्लामा भाटभटेनी पुर्याउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो । सीओओ पौडेलले पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने भाटभटेनीको लक्ष्य रहेको बताए । ‘विगतको घटनालाई हामीले गुनासोका रूपमा लिएका छैनौं,’ सीओओ पौडेल भन्छन्, ‘हामीले त त्यसलाई एउटा पाठ र अझ बलियो हुने अवसरका रूपमा लिएका छौं ।’ यो पनि पढ्नुहोस् : ५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगार
ग्यास अभावमा उपत्यकाका हजारौं नागरिक भोकै
काठमाडौं । काठमाडौं उपत्यकाको बिहानी अचेल चियाको मगमगाउँदो बास्ना वा तातो दूधको उम्लाइबाट सुरु हुँदैन । यो सुरु हुन्छ सडकपेटीमा फलामे साङ्लोले बाँधिएर लामबद्ध बनाइएका रित्ता राता सिलिण्डरहरूको स्तब्ध मौनताबाट । भदौको घामले उपत्यकाको धुलोलाई तताउँदै गर्दा सहरका गल्ली र डिपो अगाडि अनौठो, निर्मम र विरक्तलाग्दो दृश्य देखिन्छ । मानिसहरू आफ्ना कामधन्दा, रोजगारी, कार्यालय र पढाइ छाडेर धातुको गह्रौँ सिलिण्डर घिसार्दै सडकमा उभिएका छन् । सिलिण्डरहरू चोरी हुने डरले बिजुलीका पोल, डिपोका गेट र फलामे रेलिङहरूमा बाक्लो साङ्लो र ताल्चा लगाएर बाँधिएका छन् । त्यो साङ्लो केवल ग्यास सिलिण्डरको सुरक्षा कवच मात्र होइन, एक्काइसौँ शताब्दीको सङ्घीय राजधानीमा बाँधिएको नागरिक स्वाभिमान र तिनका निभेका सपनाहरूको एउटा मौन प्रतीक बनेको छ । भदौको १० गते भोटेकोशी र त्रिशूली नदीको भयानक उर्लाइ र पृथ्वी राजमार्गको कृष्णभीर लगायत दर्जनौँ स्थानमा खसेका भीषण पहिरोले देशको मुटु मानिने काठमाडौंको आपूर्ति शृङ्खला क्षतविक्षत पारिदियो । तर बाटो भत्किनु त एउटा बाह्य कारण मात्र थियो । भित्री यथार्थ भने त्योभन्दा निकै सडेको, कालो र निर्मम छ । बाटो बन्द हुनुपूर्व नै उपत्यकामा ग्यासको लुकामारी सुरु भइसकेको थियो । जब राजमार्गमा पहिरो खस्यो, बजारका बिचौलिया, नाफाखोर व्यापारी र अदृश्य सिन्डिकेटधारीहरूका लागि यो एउटा स्वर्णिम ‘अवसर’ बन्न पुग्यो । अभावलाई कृत्रिम रूपमा चर्काएर कालोबजारीको बजार सजाउनेहरूका कारण आज उपत्यकाका हजारौं नागरिकहरू भोकै बस्न विवश छन् । ग्यास डिपो अगाडि उभिएका अनुहारहरूमा थकान छ, आँखामा अनिश्चितताको कालो बादल छ, र ओठहरूमा राज्यसत्ताप्रतिको गहिरो अविश्वास पोखिएको छ । त्यहाँ उभिएका कोही पनि विलासिताका लागि आएका होइनन्, तिनीहरू केवल दुई छाक भात पकाएर आफ्ना लालाबाला, वृद्ध आमाबुवा वा आफ्नै कमजोर पेट भर्नका लागि आवश्यक नीलो आगोको खोजीमा छन् । तर त्यो नीलो आगो आज काठमाडौंको आकाशमा उडेको धुँवा जस्तै अलप भएको छ । सडकमा उभिएका नागरिकहरू भनिरहेका छन् । यो सङ्कट केवल प्राकृतिक विपत्तिको उपज होइन, यो त राज्यको निरीहता, निरीक्षणहीन बजार र नीतिगत भ्रष्टाचारको चरम बिन्दु हो । डेढ महिनाको भोको प्रतीक्षा र पीडा ताहाचलको ग्यास डिपो अगाडि उभिएका जनक कोइरालाको अनुहारमा एउटा गम्भीर, गहिरो र थकित भाव झल्किन्छ । उनी त्यहाँ आधा घण्टादेखि लामबद्ध छन्, तर उनको हातमा आज ग्यास पर्ने कुनै सम्भावना छैन । ‘आज ग्यास पाइन्छ जस्तो लाग्छ कि लाग्दैन ?’ भन्ने प्रश्नमा उनी कुनै भ्रम नराखी भन्छन्, ‘आज पाइँदैन, अब यो २०–२२ गतेतिर पाउला । आज सिलिण्डर बुझाउने मात्रै हो ।’ हप्तौँको पर्खाइपछि आज उनले आफ्नो स्वामित्वको रित्तो सिलिण्डर डिपोको जिम्मा लगाउन पाउनेछन् र त्यसको बदलामा एउटा सानो टोकन प्राप्त गर्नेछन् । त्यो टोकनमा लेखिएको मितिअनुसार उनले अझै १५ देखि २२ दिनसम्म चिसो चुलो हेरेर बस्नुपर्नेछ । जनक कोइरालाको यो पीडा आज वा हिजोको मात्र होइन । उनी बताउँछन् कि उनले आफ्नै घरमा खाना पकाउने ग्यास नपाएको आज १ देखि डेढ महिना बितिसक्यो । विगतका दिनहरू सम्झँदै उनी भन्छन्–‘पहिला त सजिलै पाइन्थ्यो, अहिले चाहिँ सजिलो छैन । उनीहरूले भ्रष्टाचार गर्ने मान्छेले भ्रष्टाचार गर्नलाई ग्यास लुकाइरहेका छन् ।’ कोइरालाको यो भनाइले काठमाडौंको भित्री बजारमा चलिरहेको विकृत कालोबजारीको पर्दाफास गर्छ । जब बजारमा वास्तविक अभाव सिर्जना हुन्छ, तब बिचौलियाहरूले त्यसलाई दोब्बर–तेब्बर नाफा कमाउने औजार बनाउँछन् । तर यति ठूलो सास्ती खेप्दा पनि जनक कोइरालाभित्र एउटा अनौठो संयम र नेपाली समाजको परम्परागत सहिष्णुता देखिन्छ । जब उनलाई सरकारको भूमिका र दुःखबारे सोध्यौँ, तब उनी निकै संवेदनशील र दार्शनिक ढङ्गले जवाफ दिन्छन्- ‘सरकारले अब यो नयाँ सरकारलाई खुट्टा टेक्न नदिएर खुट्टा तानेको भएर यो दुःख पाएको मात्रै हो । यो सबै सहज हुन्छ । अहिले बाटो पनि अलिकति बिग्रेको हुनाले अलि असहज भइराछ ।’ अनि थप्छन्, ‘दुःख त मान्छे जन्मेपछि दुःख त जसलाई पनि हुन्छ नि, सुख त कसलाई हुन्छ र ?’ मानिस जन्मिएपछि दुःख पाउनु स्वाभाविक हो भन्ने उनको यो वाक्यले नेपाली नागरिकको अगाध धैर्यता मात्र देखाउँदैन, राज्यको निरन्तरको धोकाधडीपछि जन्मिएको एउटा लाचार आत्मसमर्पणलाई पनि अभिव्यक्त गर्दछ । के नागरिक केवल दुःख पाउनकै लागि जन्मिएका हुन् ? राज्यको दायित्व कहाँ गयो ? आपूर्ति अवरोध कि मौकापरस्त नाफाखोरी ? काठमाडौं उपत्यकाको ग्यास सङ्कटलाई बुझ्न भौगोलिक र पूर्वाधारगत यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । नेपाल आयल निगम र व्यवसायीहरूको दाबीअनुसार भारतको बरौनी, हल्दिया र मथुराबाट आउने एलपीजी बुलेटहरू धादिङको नौबिसे हुँदै उपत्यका भित्रिनुपर्छ । तर यस वर्षको मनसुन अन्त्यतिर आएको असामान्य वर्षाले त्रिशूली कोरिडोरलाई तहसनहस पा¥यो । कृष्णभीर, जोगिमाराको सडक अवरुद्ध र भोटेकोशी बाढीले झनै असहज बनाइदियो । उद्धारकर्मीहरू मानिसहरूको ज्यान बचाउन र सडकको ट्र्याक खोल्न रातदिन खटिए । यो यथार्थलाई उपभोक्ता केशव तिमल्सिना पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘लाइनमा बसेको त दिन हैन, अहिले भर्खर आएको १ घण्टा जति भयो । टोकन लिएर राखेपछि १ महिना छिट्टैमा पाइन्छ भन्ने सुनेर टोकन लिन आएको हो । सहजीकरण गर्नलाई त सरकारलाई अहिले ग्यासको भन्दा पनि बाढी पहिरोको चपेटामा परेर त्यतातिर ध्यान दिने अवस्था परेको छ । त्यहाँ मान्छेहरूलाई उद्धार गर्नुपर्ने मेन कारण हो र कृष्णभीरको पहिरोले गर्दा अभाव खड्किएको हो ।’ नागरिकहरू देशको प्राकृतिक सङ्कटप्रति बेखबर छैनन्, उनीहरू विपत्तिमा परेका सहयात्रीहरूप्रति उत्तिकै संवेदनशील छन् भन्ने कुरा तिमल्सिनाको भनाइबाट स्पष्ट हुन्छ । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब प्राकृतिक विपत्तिको आडमा सूचनाको भ्रष्टीकरण गरिन्छ । तिमल्सिना प्रश्न उठाउँछन्–‘अब सरकारले जतिसक्दो छिटो स्पष्ट पार्नुपर्छ । दिनको ७–८ हजार ग्यास आइराखेको छ भनेर फेसबुक र सोसल मिडियाहरूमा न्युज आइरहेको छ । तर अब त्यो यथार्थ न्युज हो कि होइन भन्नेकुरा कसरी जान्ने ? सरकारले स्पष्टीकरण दियो भने सजिलो हुन्थ्यो होला ।’ यदि साँच्चिकै दैनिक हजारौँ सिलिण्डर उपत्यका भित्रिरहेका छन् भने ती सिलिण्डरहरू कसको भण्डारमा पुगिरहेका छन् ? किन सर्वसाधारणले टोकन लिएर पनि एक महिना कुर्नुपरेको छ ? के त्यो ग्यास हावामा बिलाएको हो ? सरकारी निकायहरूको मौनताले जनताको शङ्कालाई थप मलजल गरिरहेको छ । उपभोक्ता तिमल्सिना केवल गुनासो मात्र गर्दैनन्, उनी राज्य सञ्चालकहरूका लागि एउटा अत्यन्तै आधुनिक, वैज्ञानिक र व्यावहारिक समाधानको खाका पनि प्रस्तुत गर्दछन् । नेपालमा लामो समयदेखि अर्बौं रुपैयाँ खर्चेर ‘राष्ट्रिय परिचयपत्र’ वितरणको अभियान चलाइएको छ । तर त्यो परिचयपत्र नागरिकको पर्समा थन्किएर बस्ने प्लास्टिकको कार्ड मात्र बनेको छ, दैनिक जनजीवन र सेवा प्रवाहमा त्यसको उपयोग शून्य प्रायः छ । तिमल्सिना जोड दिएर भन्छन्, ‘सरकारले यो ग्यासहरू सबै थोक अब राष्ट्रिय परिचयपत्र लागू भएको थियो, त्यसबाट इन्ट्री गरेर दिने हो भने मान्छे सायद यसरी भीड पनि गर्ने थिएन होला । त्यो गरिदियो भने अझ सुविधा हुन्थ्यो । कसको घरमा छैन उसले लान्छ । जसको घरमा ५ वटा राखेर बसेको छ, उसलाई त दिनु परेन नि त, उसको घरमा सकिन लाग्यो भने १ महिना पछाडि आउँछ । तर कसैले त ५ वटा राखेर बस्या पनि हुन सक्छ, त्यो अवस्था पनि होइन भन्न सकिँदैन ।’ यो सुझाव आजको डिजिटल युगमा अत्यधिक प्रभावकारी छ । जबसम्म ग्यास वितरण प्रणाली व्यक्ति वा परिवारको डिजिटल परिचयसँग जोडिँदैन, तबसम्म सीमित शक्ति सम्पन्न, धनी र पहुँचवालाहरूले आफ्ना भण्डारमा दर्जनौँ सिलिण्डर थुपारिरहनेछन् भने डेरामा बस्ने, दैनिक ज्यालादारी गर्ने वा विपन्न नागरिकहरू एउटै सिलिण्डरका लागि महिनौँ लामबद्ध भइरहनेछन् । त्यसका साथै तिमल्सिनाले बाढी पहिरोको चपेटामा परेका नागरिकहरूलाई दोहोरो मार परेको उल्लेख गर्दै प्यान बिलमार्फत कर तिर्ने उपभोक्तालाई सरकारले राहत दिनुपर्ने माग पनि राखेका छन् । नागरिकले राज्यलाई सङ्कटमा साथ दिने तर राज्यले सङ्कटको बेला नागरिकलाई कालोबजारीको मुखमा धकेल्ने प्रवृत्ति अन्त्य हुनैपर्छ । लोकसेवाका विद्यार्थी र भोकको चित्कार काठमाडौं उपत्यकाको अर्को छेउ, ऐतिहासिक सहर कीर्तिपुरको भाजंगलबाट आएका युवा कमल जोशीको आक्रोश सुन्दा जोसुकै संवेदनशील मानिसको आँखा रसाउँछ । जोशीको आवाजमा काठमाडौंमा सङ्घर्ष गरिरहेका लाखौँ डेरावाल विद्यार्थी, युवा र श्रमिकहरूको सामूहिक रोदन र आक्रोश प्रतिध्वनित हुन्छ । उनी भन्छन्–‘कीर्तिपुरमा त छोड्नुस्, काठमाडौं नेपाल कहाँ छ ? पूरै पश्चिम–पूर्व कुनै ठाउँ पनि छैन जस्तो लाग्यो । सबै साथीहरू फोन गर्छन्, ग्यास पाइरहेको छैन भन्छन् । मेरो त ग्यास सकिएको १०–१५ दिनै भइसक्यो । अर्को साथीबाट मागेर जुगाड गरेर बसिरहेको थिएँ । आफ्नो सिलिण्डर सकिएपछि अब त ल्याउनै प¥यो भनेर आएको हो ।’ उपत्यकामा डेरा गरी बस्ने विद्यार्थीको भोको पेट मार्मिक पक्ष हो । काठमाडौं देशैभरिका विपन्न गाउँबाट उच्च शिक्षा हासिल गर्न र लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर देशको सेवा गर्ने सपना बोकेर आएका गरिबका छोराछोरीहरूको आश्रयस्थल हो । ती विद्यार्थीसँग कुनै अतिरिक्त बचत हुँदैन । गाउँबाट आमाबुवाले ऋणपान गरेर महिनाको ठिक्क भाडा र दाल–चामलको पैसा पठाएका हुन्छन् । जोशी भन्छन्, ‘धेरै साथीहरू छन् के यस्तो पीडामा, स्टुडेन्टहरू हुन्छ, लोकसेवा तयारी गर्ने साथीहरू हुन्छ । बिहान बेलुका खान पाएनौँ भन्छन् । उनीहरूसँग अब एक्स्ट्रा त्यो इन्डक्सन कुकर किनौँ भने पैसा पनि छैन । घरबाट ठ्याक्कै खर्च मिल्ने गरी दिन्छन् । अनि यता ग्यास भन्नलाई ग्यास पाइँदैन । के ग¥या हो खै ।’ एउटा विद्यार्थी जो भोलिको देश हाँक्ने सपना देख्दै राति २ बजेसम्म टुकी वा बत्तीको उज्यालोमा किताब घोकिरहेको हुन्छ, ऊ बिहान उठेर दुई मुठी भात पकाउन नपाएर दिनभरि खाली पेट लोकसेवाको कक्षा धाउन बाध्य हुन्छ । के यो देशका नीतिनिर्माताहरूले ती भोका विद्यार्थीको पेटको आवाज सुन्न सक्छन् ? बजारमा ३ देखि ५ हजार रुपैयाँ पर्ने इन्डक्सन चुलो किन्न नसकेर भोकै सुत्ने विद्यार्थीको पीडाले सुशासनको ढोल पिट्ने शासकहरूलाई गिज्याइरहेको छ । ‘मरेकालाई खोजिरहेका छन्, जिउँदालाई मारिरहेका छन्’ : सुशासनको विद्रूप यथार्थ जोशीको आक्रोश त्यतिमा मात्र रोकिँदैन । उनी वर्तमान राज्यसत्ता, राजनीतिक दलहरू र शासन प्रणालीको मुटुमै प्रहार गर्ने गरी प्रश्न गर्छन् । उनी भन्छन्, –‘जेन–जी आन्दोलनपछि त सुशासन आउँछ भनेर कुरा गरिरहेका थिए । अब यहाँ के हुन्छ, अहिलेका नयाँहरूले पनि के गरिरहेका हुन् ? ग्यासको अभाव साँच्चिकै हो कि कृत्रिम अभाव गराएको हो कि ग्यास नै नआएको हो ? त्यो त राम्रोसँग निरीक्षण गर्नुपर्थ्यो नि त अहिलेको सरकारले पनि । निरीक्षण नै छैन ।’ त्यसपछि उनी एउटा यस्तो वाक्य बोल्छन्, जसले नेपाली राज्यको प्राथमिकताको चरम असन्तुलनलाई उदाङ्गो पारिदिन्छ । ‘के भन्छ त्यो मरेकालाई खोजिरहेका छन्, जिउँदोलाई मारिरहेका छन् के, सत्य कुरा यो हो नि त । जिउँदो मान्छेलाई मारिरहेका छन् तिनीहरूले देख्या छैन । अनि मरेको मान्छेलाई कहाँ छन् लाश भनेर खोजिरहेका छन् । मरेको मान्छेलाई किन खोज्नुप¥यो ? मरेको मान्छे छोडिदिनु न बरु, जिउँदो मान्छेको पो राम्रोसँग गर्ने हो त, यस्तो गरिरहेका छन् ।’ जोशीको यो भनाइ भावनात्मक रूपमा जतिसुकै कठोर सुनिए पनि यसले विपत्तिमा राहत र दैनिक आधारभूत बाँच्ने अधिकारबीच राज्यले गरेको चरम असन्तुलनलाई व्यङ्ग्य गर्दछ । विपत्तिमा परेका लाशहरूको खोजी जति जरुरी छ, सहरमा जिउँदै तड्पिएका करोडौं नागरिकलाई भोकभोकै मर्नबाट बचाउनु पनि उत्तिकै अनिवार्य दायित्व हो । उनी अगाडि भन्छन्, ‘यो हेर्नु त यत्रो लाइन, बिहानदेखि अहिलेसम्म खाना खाएन के हामीले । १२ नै बज्न थाल्यो, ग्यासको दौडधुपमा खाना खाएन । यस्तो हालत छ । अब भन्ने कुरा गर्छन् के एउटा नारा, सुशासन रे, सुशासन भनेको ग्यास नै नपाउने ? आधारभूत कुरा नै नपाएपछि के को सुशासन हुन्छ ? पहिलो वर्ष सुशासनको वर्ष भनेर भनेका थिए नि त तिनीहरूले । त्यो सुशासनको वर्ष पूरा गर्नलाई त पहिला त ग्यास हुनुप¥यो । गाँस, बास, कपास छैन भनेपछि के को सुशासन हुने हो ?’ जोशीको यो प्रश्नले कुनै पनि राजनीतिक दर्शन वा चुनावी घोषणापत्रभन्दा माथि उठेर नागरिकको पेटको यथार्थलाई स्थापित गर्दछ । पहुँचवालाको बलिरहने आगो र सर्वसाधारणको रित्तो सिलिण्डर काठमाडौं उपत्यकामा देखिएको यो ग्यास सङ्कट केवल आपूर्ति अभावको कथा मात्र होइन, यो गहिरो वर्गीय विभेदको नग्न प्रदर्शन पनि हो । जोशीले उठाएको एउटा अकाट्य प्रमाण छ, जसको जवाफ न त आयल निगमसँग छ, न त वाणिज्य विभागसँग । उनी भन्छन्, ‘होटलहरू चलिरहेका छन्, व्यवसायहरू चलिरहेका छन् । खानलाई मात्र ग्यास छैन भनेपछि कस्तो हो यो समस्या बुझ्नु त अब, होटलहरूमा त एउटा ठाउँमा पनि बन्द छैन अहिलेसम्म । ग्यास आएको छैन भनेर कुनै होटल बन्द भएको छ र ? होटल बन्द छैन नि, अनि मान्छेको खाने कोठामा, डेरामा मात्रै ग्यास बन्द छ भनेपछि यो त अभावै त नभनौँ होला ।’ हो, सहरका तारे होटलहरू, सहरका महँगा क्याफे र रेस्टुरेन्टहरूमा आगो २४ सै घण्टा दनदनी बलिरहेको छ । त्यहाँ औद्योगिक तथा व्यावसायिक प्रयोजनका नीलो र राता सिलिण्डरहरूको कुनै अभाव छैन । अभाव छ त केवल डेरा गरी बस्ने कमल जोशी जस्ता विद्यार्थी, जनक कोइराला जस्ता सामान्य कर्मचारी र केशव तिमल्सिना जस्ता साधारण नागरिकको भान्सामा । जोशी थप्छन्, ‘ग्यासहरू छ, तर भनसुनको आधारमा छ । जो सर्वसाधारण सामान्य व्यक्ति छ काठमाडौंमा, आफ्नो काम मात्रै गरिरहेको छ भने त्यो मान्छेले ग्यास पाउँदैन । जो मान्छेले यहाँ ‘मेरो पनि मान्छे छ है’ भनेर तडकभडक गर्न सक्यो त्यसले पाउँछ । सामान्य मान्छेले ‘मलाई ग्यास चाहिएको छ, म पच्चीस सय वा दुई हजार तिर्न तयार छु’ भन्दा पनि ग्यास पाइरहेको छैन । यो सत्य कुरा हो ।’ जब सङ्कट आउँछ, तब त्यसको पहिलो मार समाजको पिँधमा रहेका आवाजविहीन नागरिकमाथि पर्छ । पहुँचवालाहरूले आफ्ना मन्त्री, सचिव, राजनीतिक नेता वा डिपो सञ्चालकसँगको एउटै फोन कलको भरमा घरको आँगनमै ग्यासका सिलिन्डर झार्छन् । तर शक्ति र पहुँच नभएका निरीह नागरिकहरू भने बिहान ४ बजेदेखि सडकपेटीमा लाइन लागेर एउटा रद्दी कागजको टोकनका लागि गुहार मागिरहेका हुन्छन् । यो विभेदले नागरिकको मनमा राज्य र व्यवस्थाप्रति गहिरो आक्रोशको बारुद भरिरहेको छ । त्यो अन्धकार लाम र ८४ सालको राजनीतिमाथि जनप्रश्न–उपभोक्ता काठमाडौंको अर्को डिपो, जहाँ विगतमा सुगन्ध श्रेष्ठमार्फत नियमित ग्यास वितरण हुन्थ्यो, त्यहाँ अहिले ग्यास पाइन छोडेको छ । जुन पसल वा डिपोमा वर्षौंदेखि उपभोक्ताले ग्यास पाइरहेका थिए, सङ्कटको घडीमा त्यहीँबाट ग्यास गायब हुनुले दालमा केही कालो छ भन्ने प्रस्ट पार्छ । उनी भन्छन्, ‘आशा त आशा छ, अलि टाइम पुगेपछि थाहा होला । तर हामी सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छौं । यस्तो अब होइन, जनताहरू गरिब छन्, कोही भोकभोकै दिन बिताइरहेका छन् । खाना नपाएर होटल रेस्टुरेन्टमा धाउनुपर्ने बाध्यता छ ।’ उनले बोलेको अर्को मर्मभेदी वाक्यले नेपालको समसामयिक राजनीतिक बहसमाथि गतिलो झापड हान्छ । उनी भन्छन्, ‘८३ साल भइसक्यो, नयाँ सरकारले अलिकति भए पनि ग्यासतिर ध्यान आकर्षण गरोस्, यति नै भन्न चाहन्छु ।’ आजका राजनीतिक दलहरू र नयाँ उदाएका शक्तिहरू सबैको ध्यान २०८४ सालको स्थानीय तह र प्रदेश निर्वाचनको अङ्कगणितमा केन्द्रित छ । नेताहरू भाषण गर्छन्, ‘८४ मा हामी यति सिट जित्छौँ, ८४ मा देश कायापलट गर्छौं ।’ तर २०८४ सालको चुनाव कुर्न नागरिक आज २०८३ सालमै जिउँदो रहनुपर्दैन र ? आजको भोक मेटाउन नसक्ने, आजको चिसो चुलोमा आगो बाल्न नसक्ने राज्यले २०८४ सालको समृद्धिको सपना बाँड्नु कतिसम्मको उपहास हो ? जनताको माग ठूलो छैन–उनीहरूलाई चन्द्रमामा पुग्ने रकेट चाहिएको छैन, उनीहरूलाई त केवल साँझ घर फर्केर दुई गाँस पकाउने एउटा सिलिण्डर ग्यास चाहिएको छ । भान्साको ज्वाला, जनताको धैर्य र राज्यको अन्तिम परीक्षा नेपाली जनताको धैर्यता विश्वमै अद्वितीय मानिन्छ । नाकाबन्दीका ६ महिना दाउरा बालेर काटेका, भूकम्पको भग्नावशेषमा त्रिपालमुनि वर्षौं बिताएका, र कोरोना महामारीमा सयौँ माइल हिँडेर गाउँ पुगेका नागरिकहरू आज आफ्नै देशको राजधानीमा एउटा ग्यास सिलिण्डरका लागि भिख मागेजस्तो अवस्थामा उभिन बाध्य छन् । तर धैर्यताको पनि एउटा सीमा हुन्छ । जोशीले चेतावनी दिँदै भनेका छन्– ‘यस्तै अवस्था चलिराख्यो भने त कति बस्लान् जनताहरू पनि ? १ महिना चुप लाग्छन्, २ महिना चुप लाग्छन् । यसै हो भने त २ महिनाभन्दा बढी त सहन सक्दैनन् । अहिले यो दसैँ–तिहारको माहोल छ । सक्छ भने कृत्रिम अभाव गराउने डिलरहरूलाई कडा कारबाही गर, जनताको रिस उठ्यो भने डिलरमै आगो लगाइदिन्छन्, के ठूलो कुरा भयो र ?’ यो कुनै अराजक अभिव्यक्ति मात्र होइन, यो त राज्यको असफलताले सिर्जना गरेको जनआक्रोशको ज्वालामुखी हो । इतिहास साक्षी छ, संसारका ठूला–ठूला क्रान्तिहरू कुनै ठूला दार्शनिक ग्रन्थबाट होइन, भोक र रोटीको अभावबाट सुरु भएका थिए । जब नागरिकको आधारभूत बाँच्ने अधिकार खोसिन्छ, जब उसका बालबच्चा भोकले रुँदा राज्य केवल कानमा तेल हालेर बस्छ, तब त्यो आक्रोश व्यवस्थाका पर्खालहरू भत्काउन पर्याप्त हुन्छ । ग्यास सङ्कट समाधानका लागि अब राज्यले तत्काल तीनवटा ठोस कदम चाल्नैपर्छ । पहिलो, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय प्रशासनले संयुक्त रूपमा उपत्यकाका प्रत्येक ग्यास उद्योग, बोटलिङ प्लान्ट र डिलरहरूमा आकस्मिक र कठोर छापा मार्नुपर्छ । कृत्रिम अभाव सिर्जना गर्ने, गोदाममा सिलिन्डर लुकाउने र कालोबजारीमा २५ सयमा बेच्ने जोसुकै बिचौलियालाई हदैसम्मको कानुनी कारबाही गरिनुपर्छ । दोस्रो, केशव तिमल्सिनाले प्रस्ताव गरेझैँ ग्यास वितरणलाई तत्काल राष्ट्रिय परिचयपत्र वा वडास्तरीय विद्युतीय प्रणालीसँग आबद्ध गरिनुपर्छ । प्रत्येक परिवारलाई निश्चित कोटा तोकेर कुन घरमा कतिवटा सिलिण्डर पुग्यो भन्ने डिजिटल अभिलेख सार्वजनिक गरिनुपर्छ । यसले गर्दा एउटै घरमा ५ वटा सिलिण्डर जम्मा हुने र अर्को घर भोकै बस्ने विसङ्गति सदाका लागि अन्त्य हुनेछ । तेस्रो, सरकारले सोसल मिडिया र सरकारी सञ्चारमाध्यममार्फत दैनिक कतिवटा बुलेट उपत्यका भित्रिए, कतिवटा सिलिण्डर कुन–कुन डिपोमा पठाइए भन्ने तथ्यगत श्वेतपत्र दैनिक रूपमा जारी गर्नुपर्छ, ताकि भ्रम र कालोबजारीको अन्त्य होस् । काठमाडौंका सडकमा आज फलामे साङ्लोले बाँधिएका ती सिलिण्डरहरू केवल ग्यासका भाँडो होइनन्, ती राज्यको विवेकको ऐना हुन् । जनक कोइरालाको शान्त पीडा, केशव तिमल्सिनाको विचारशील सुझाव, कमल जोशीको विद्रोही चित्कार र डिपोको लाममा उभिएका ती अनामिक नागरिकको आँसुले आज सिङ्गो सिंहदरबारलाई घच्घच्याइरहेको छ । यदि समयमै यो आगो चुलोमा सल्काइएन भने, भोलि यही आगो सडकमा सल्किनेछ र त्यसको रापले कसैलाई पनि सुरक्षित राख्नेछैन । राज्य बेलैमा ब्युँझियोस्, र नागरिकका चुलाहरूमा चाँडै नीलो आगो दन्कियोस् ।