प्रेममा पनि कालोबजारी

काठमाडौं । फेब्रुअरीको सुरुआती चिसो सिरेटोबीच सहरका गल्ली र कफीशपमा प्रेमको रङ चढ्न थालिसकेको छ । फेब्रुअरी १४ अर्थात् ’भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा बजारमा राता गुलाफका थुँगाहरूको चर्चा र माग चुलिएको छ । चुनावी माहोलका बीच पनि बजारमा प्रेमी जोडीहरूले एक अर्काप्रति सामिप्यता र प्रेमको महसुस गराइरहेका छन् ।  काठमाडौंका फूल पसलहरू रातो गुलाफले सजिन थालिसकेका छन् । गुलाफ यतिबेला सामान्य फूल मात्रै छैन, प्रेमी जोडीहरूका लागि सुनौलो प्रेमको प्रतीक र व्यवसायीहरूका लागि व्यापारको बहार बनिरहेको छ । तर, यो सुन्दर प्रेमको सुगन्धभित्र नमीठो ‘कालोबजारी’ लुकेको छ । प्रेमी-प्रेमिकाले साटासाट गर्ने गुलाफमा कालोबजारीको गन्ध आइरहेको छ ।  व्यवसायीहरूका अनुसार यो वर्षको प्रणय दिवसमा झण्डै साढे ५ करोड रुपैयाँ बराबरको गुलाफको कारोबार हुने अनुमान छ ।  तर विडम्बना, भन्सारको आधिकारिक ढड्डा पल्टाउने हो भने तथ्यांक बेग्लै छ ।  नेपाल फ्लोरीकल्चर एशोसिएसन नेपालले ‘प्रणय दिवस’ मा ४ लाख ५० हजार स्टिम गुलाफको खपत हुने अनुमान गरेकाे छ । संघका अनुसार यो नेपालभरको अनुमानित बजार माग हो । यसमध्ये काठमाडौं उपत्यकामा मात्र करिब २ लाख ७० हजार स्टिम र उपत्यका बाहिरका जिल्लामा १ लाख ८० हजार स्टिम गुलाफ खपत हुने अनुमान गरेको संघका महासचिव हीरामणि शर्माले जानकारी दिए । भ्यालेन्टाइन सप्ताहका लागि आवश्यक कुल मागमध्ये करिब ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनबाट माग धान्ने उनले बताए । संघका अनुसार बाँकी ७० प्रतिशत गुलाफको लागि भने भारतलगायत अन्य मुलककै भर पर्नुपर्ने हुन्छ । नेपालमा मौसमी उत्पादन प्रणाली भएकाले फेब्रुअरी महिनामा चिसो मौसमका कारण गुलाफको उत्पादन घट्ने गर्छ । यही कारण बजारको माग धान्न ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था रहेको महासचिव शर्मा बताउँछन् । ५ करोडभन्दा बढीको कारोबार  प्रणय दिवस सप्ताहभर बजारमा गुलाफको सहज आपूर्ति भएमा करिब ५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान संघले गरेको छ । महासविच शर्माका अनुसार गुलाफको गुणस्तरअनुसार प्रति स्टिम खुद्रा मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्न सक्नेछ ।  सामान्य अवस्थामा पनि नेपालमा दैनिक ८ हजारदेखि १२ हजार स्टिम गुलाफको माग हुने गरेको छ । गत वर्ष भने भ्यालेन्टाइन अवधिमा करिब ४ लाख २५ हजार स्टिम गुलाफको कारोबार भएको थियो । त्यतिबेला प्रति स्टिम मूल्य ८० देखि १२० रुपैयाँ सम्म रहेको थियो। नेपालमा व्यावसायिक गुलाफ खेती मुख्यतः काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रे र रूपन्देहीमा हुँदै आएको छ । पछिल्ला वर्षहरूमा अन्य जिल्लामा पनि व्यावसायिक खेती विस्तार हुने क्रम जारी रहेको छ ।  प्रेममा पनि कालोबजारी  भन्सार विभागका तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ४६ लाख ४५ हजार रुपैयाँ बराबरको गुलाफको फुल आयात भएको छ । तथ्यांक अनुसार आव २०७९/८० र २०८१/८२ मा सबैभन्दा धेरै गुलाफ आयात भएको थियाे । भन्सार विभागका अनुसार आव २०८१/८२ मा २० लाख ७३ हजार रुपैयाँ बराबरको गुलाफ आयात भएको थियाे । जुन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा धेरै आयात हो ।  उक्त वर्षमा सबैभन्दा धेरै गुलाफ आयात भारतबाट ७ लाख ८३ हजार रुपैयाँ बराबरको १९ हजार ८०० पिस गुलाफ आयात भएको थियाे । त्यस्तै, भारतबाटै २ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार १०८ केजी ताजा गुलाब भित्रिएको छ ।  आव २०८१/८२ मा नेदरल्याण्डबाट ५ लाख ६२ हजार रुपैयाँ बराबरको १ हजार २५८ पिस गुलाफ आयात भएको तथ्यांक छ । नेदरल्याण्डपछि चीनबाट उक्त आवमा ४ लाख ४२ हजार रुपैयाँ बराबरको ४९० केजी गुलाफ आयात भएको छ । आव २०७९/८० मा १५ लाख ७५ हजार रुपैयाँ बरारबको गुलाबको फुल आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार उक्त आवमा भारतबाट १ लाख रुपैयाँ बराबरको २७० पिस र १४ लाख ७५ हजार रुपैयाँ बराबरको ११ हजार ३०७ केजी ताजा गुलाब भित्रिएको छ ।  आव २०८०/८१ मा अरू वर्षको तुलनामा कम गुलाफ आयात भएको देखिन्छ । उक्त आवमा १ लाख ६ हजार रुपैयाँ बराबरको गुलाफ नेपाल भित्रिएको छ । जसमध्ये भारतबाट ९१ लाख रुपैयाँ बराबरको २७७ केजी र अमेरिकाबाट १५ हजारको १ केजी गुलाफ आयात भएको थियाे ।  आव २०७७/७८ मा ३ लाख ४८ हजार रुपैयाँ बराबरको गुलाफ भित्रिएको छ । जसमा भारतबाट २ लाख २५ हजार रुपैयाँ बराबरको १ हजार ९ सय केजी  गुलाब आयात भएको छ । त्यस्तै आव २०७८/७९ मा ५ लाख ४३ हजार रुपैयाँ बराबरको आयात भएको छ । प्रणय दिवसमा वार्षिक ४/५ करोडको कारोबार हुने गरेको व्यवसायी बताउँछन् । त्यसको ७० प्रतिशत हिस्सा भारतको हो । अर्थात् नेपालमा खपत हुने ७० प्रतिशत गुलाफ भारत लगायत देशबाट आयात गरिन्छ । तर, सरकारी तथ्यांकमा केही लाख रुपैयाँ बराबरको गुलाफ आयात भएको देखिन्छ । यसले प्रेम दिवसमा प्रयोग हुने गुलाफमा पनि कालोबजारी भएर गैरकानूनी रुपमा आयात हुने गरेको प्रष्ट बुझ्न सकिन्छ । ‘भ्यालेन्टाइन डे’ र गुलाफको प्रयोग  प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यसलाई साताभर नै मनाउने प्रचलन बढ्दै गएको छ । यो दिवस मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाइन्छ ।   यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने विश्वास रहँदै आएको छ । विशेषगरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ । त्यसैकारण पनि यस समयमा गुलाबको माग र खपत अरु बेलाभन्दा बढी हुने गरेको पुष्प व्यापारीहरू बताउँछन् । प्रणय दिवस केवल दिवस मात्रै नभएर यो पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर प्रेम गर्नलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन भने सम्राट्को उक्त निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।  त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । राजाको आज्ञाको पालना तोडेको आरोपमा उनलाई ईसापूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण नै बलिदान गर्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । विश्वभर नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू

काठमाडौं । इनड्राइभले नेपालका आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१ प्रतिशत सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले चालकहरूलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसले उनीहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । ​​​​​​​इनड्राइभको विशिष्ट पियर–टु–पियर (P2P) मोडेलअनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण हुने व्यवस्था रहेको छ । लगभग शून्य सेवा शुल्कको यो नयाँ नीतिले प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र चालक–मैत्री बनाउँदै ड्राइभर पार्टनर्सलाई प्रत्यक्ष लाभ पुग्ने कम्पनीको विश्वास छ ।  कम्पनीका अनुसार यस पहलको मुख्य उद्देश्य प्लेटफर्मको दीगो सञ्चालन सुनिश्चित गर्नु, चालकहरूको वास्तविक आम्दानी बढाउनु, उनीहरूको स्वायत्तता सुदृढ गर्नु तथा सेवा प्रदान गर्ने क्रममा निर्णय लिने स्वतन्त्रतालाई थप बलियो बनाउनु हो । यस्तो न्यून सेवा शुल्क संरचनाले इनड्राइभलाई निष्पक्ष मूल्य निर्धारण र 'फेयर राइड्स' अवधारणाको अग्रणी प्लेटफर्मका रूपमा स्थापित गर्न मद्दत गर्ने बताइएको छ । यो अभियान इनड्राइभले दैनिक रूपमा शहरलाई गतिशील बनाइराख्ने मेहनती ड्राइभर पार्टनर्सप्रति कृतज्ञता व्यक्त गर्ने विशेष प्रयासका रूपमा पनि लिइएको छ । आर्थिक दबाब कम गर्दै हातमा आउने आम्दानी बढाउन सहयोग पुर्‍याउने यस पहलले चालकहरूलाई थप कमाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जीमी राईले भनिन्, 'इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको एक हिस्सा ठान्छौं । बलियो समुदाय पारस्परिक सहयोगमा आधारित हुन्छ भन्ने हाम्रो विश्वास छ । ०.०१ प्रतिशत सेवा शुल्क लागू गरेर हामी हाम्रा ड्राइभर पार्टनर्सले बढी कमाउन सकून भन्ने सुनिश्चित गर्न चाहन्छौं, जसले यात्रुहरूलाई सुरक्षित, निष्पक्ष र किफायती सवारी अनुभव प्रदान गर्छ ।' उनका अनुसार यो पहलले छनोटको स्वतन्त्रता, उचित मूल्य निर्धारण र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । तत्काल लाभभन्दा पर गएर, यो अभियान सिकाइ पहलका रूपमा पनि अघि बढाइनेछ, जसले ड्राइभर संलग्नता, सेवा गुणस्तर तथा दीर्घकालीन प्लेटफर्म दिगोपनमा यसको प्रभाव अध्ययन गर्न सहयोग पुर्‍याउनेछ । इनड्राइभले जिम्मेवार विकास, नियामक पालना तथा निष्पक्ष प्रतिस्पर्धाप्रति प्रतिबद्ध रहँदै नेपालको विकसित हुँदै गएको डिजिटल तथा गिग–अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याइरहेको जनाएको छ । साथै, आगामी दिनहरूमा ड्राइभर–केन्द्रित पहल, तालिम कार्यक्रम तथा कल्याणकारी गतिविधिहरूमार्फत पार्टनर्सलाई थप सहयोग गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।  

आर्थिक तथ्यांक संकलनमा परिसंघ र तथ्यांक कार्यालयको सहकार्य

काठमाडौं । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्यांक कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया आयोजना गरिएको छ । सो अवसरमा दुवै पक्षबीच समझदारी पत्र (एमओयू) गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमति भएको छ । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना, २०८२ मा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन, २०७९ अनुसार तथ्याङ्कको पूर्ण गोपनीयता कायम गरिने बताएका छन् । उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै उनले भने, 'यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न होइन, मुलुकको वास्तविक आर्थिक सूचक तयार गरी अनुसन्धान र नीति निर्माणको प्रयोजनका लागि हो । निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन । त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिष्ठ सहकार्य गर्न चाहन्छौं ।' राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी प्रस्तुतिकरण गर्दै भने कि यो गणनाले अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने साथै अर्थतन्त्रको वास्तविक स्थितिको सही आँकलन गर्न मद्दत पुर्‍याउनेछ । परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्यांक संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए । उनले भने, 'सही तथ्यांक आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुन्छ । त्यसैले निजी क्षेत्र यस प्रक्रियामा सक्रिय रूपमा जोडिनुपर्छ ।'