कृष्णभीरमा सडकको विकल्प खोज्दै मन्त्रालय, पुल कि सुरुङ ?

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि ठप्प बनेको यातायात सञ्चालन गर्न वैकल्पिक ट्र्याक निर्माण तीव्र रूपमा अघि बढाइएको छ । त्रिशूली नदीले राजमार्गको तल्लो भाग कटान गरी करिब एक सय मिटर लामो सुरक्षा वाल भत्काएपछि ठूलो हिस्सा बगाएको थियो । सडक विभागले डाँडा काटेर करिब ३०० मिटर लामो नयाँ सडक खोल्ने काम युद्धस्तरमा अघि बढाइरहेको जनाएकाे छ । जसमा नयाँ ट्रयाक खन्ने क्रममा पहिरोको उच्च जोखिम देखिएको छ । सडक निर्माण भइरहेको स्थानभन्दा करिब २० मिटर माथिल्लो पाखामा जमिन चिरिएको भेटिएको छ । भूगर्भविद्हरूका अनुसार डाइभर्सन निर्माण स्थलभन्दा माथिल्लो भिरमा १५ मिटर लम्बाइ र एक फुटभन्दा बढी चौडाइका ७ वटा ठूला चिरा देखिएका छन्, जुन पहिरोका दृष्टिले अत्यन्त गम्भीर जोखिमयुक्त मानिन्छन् । जोखिमका बाबजुद सडक विभागले यातायात तत्काल सुचारु गर्न वैकल्पिक ट्रयाकको कामलाई निरन्तरता दिइरहेको छ । जटिल भौगोलिक बनावटका बीच नयाँ सडक ट्रयाक खोल्ने कार्य तीव्र गतिमा अगाडि बढेको सडक विभाग अन्तर्गतको नौबिसे-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी तथा इन्जिनियर सचेन्द्र मिश्रले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार जियोटेक सोसाइटीको प्राविधिक सुपरिवेक्षण र डिजाइनमा भइरहेको यो निर्माण कार्यको ४ दिन बितिसकेको छ । निर्माण कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मिश्रेले आगामी ५ देखि ७ दिनभित्रमा कटिङको काम सकेर बाटो सुचारु गर्ने लक्ष्य रहेको बताए ।  कामलाई छिटो सम्पन्न गर्न कार्यस्थलमा ६ वटा एक्साभेटर, एउटा लोडर, एउटा बुलडोजर र एउटा जेसीबी परिचालन गरिएको उनको भनाइ छ । पहिरो थुप्रिएको र जमिन चर्किएको अत्यन्तै जोखिमपूर्ण ठाउँ भएकाले सडकलाई सुरक्षित बनाउन विशेष इन्जिनियरिङ प्रविधिको प्रयोग गरिएको छ । सूचना अधिकारी मिश्रका अनुसार सडकलाई स्थिर बनाउन भित्तातिर दुई तहसम्म सिट पाइल गाड्ने योजना छ । साथै पानीको निकासका लागि साइड ड्रेन र ग्याबिन ड्रेन निर्माण गरिनेछ, जसमा जियो टेक्सटायलको प्रयोग गरिनेछ । सडकको अन्तिम सुरक्षाका लागि माइक्रो पाइलसमेत गरिने डिजाइनमा उल्लेख छ । कस्तो बन्नेछ बाटो ? अहिले निर्माण भइरहेको सडक ७ मिटर चौडाइको क्यारिज वेसहितको हुनेछ । यो दुई लेनको ग्राभेल सडक रहनेछ । दशैं अगावै र सम्भवतः भदौ मसान्तसम्ममा यो बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यो आयोजना सडक विभागको साविककै ठेक्काअन्तर्गत भइरहेको भए पनि अहिलेको कार्य आकस्मिक मर्मतको श्रेणीमा रहेको आयोजनाले जनाएको छ । आकस्मिक परिस्थितिमा काम भइरहेकाले यसको कुल लागत कति हुने भन्नेबारे काम सम्पन्न भएपछि मात्रै यकिन हुने मिश्रले बताए । हालसम्मको प्रगति सन्तोषजनक रहेको र कुनै थप प्राकृतिक अवरोध नआएमा लक्षित समयभित्रै सर्वसाधारणका लागि बाटो खुल्नेमा निर्माण टोली आशावादी देखिएको छ । अवरोध हटाउन सुरुङको विकल्प खोज्दै मन्त्रालय पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर र मुग्लिन-मलेखु सडकखण्डमा भइरहेको अवरोध हटाउन र दीर्घकालीन समाधानका लागि सरकारले विभिन्न विकल्पहरूमा अध्ययन गरिरहेको छ । पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले हाल बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सञ्चालन गर्न डाइभर्सन निर्माणलाई तीव्रता दिइएको जानकारी दिए । उनका अनुसार अहिले मन्त्रालय र सडक विभागको मुख्य प्राथमिकता अवरुद्ध सडक खुलाउनु रहेको छ । कृष्णभीर क्षेत्रमा अहिले नयाँ ट्र्याक खोल्ने र डाइभर्सन बनाउने काम तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।  ‘अहिले तत्कालका लागि बाटो जोड्ने काम भइरहेको छ । नयाँ ट्रयाक खुलेपछि त्यसमा ग्राभेल गरेर बलियो बनाइनेछ र दुईतर्फी यातायात सञ्चालन गरिनेछ, ’ उनले विकासन्युजसँग भने ।  कृष्णभीरको पहिरोलाई स्थायी रूपमा व्यवस्थापन गर्न मन्त्रालयले दुईवटा मुख्य विकल्प अघि बढाएको उनको भनाइ छ । उनका अनुसार पहिरोको जोखिम बढी भएको ठाउँमा सुरुङ बनाएर बाटो लैजाने । अर्को त्रिशूली नदीमा दुईवटा पुल निर्माण गरी सडकलाई पारि लगेर फेरि वारि ल्याउने । लम्सालले भने, ‘यी दुईमध्ये कुन विकल्प बढी उपयुक्त, दिगो र किफायती हुन्छ भन्नेबारे विस्तृत सम्भाव्यता अध्ययनपछि मात्र निर्णय हुनेछ । हिजोमात्र म्यानेजमेन्ट टिमले यसको प्रारम्भिक जानकारी गराइसकेको छ ।’   मन्त्रालयका अनुसार हाल भइरहेको मर्मत र डाइभर्सनको काम मलेखु-मुग्लिन आयोजनाकै मौजुदा बजेटबाट भइरहेको छ । नयाँ निर्माणका लागि कति खर्च लाग्छ भन्ने कुरा विस्तृत अध्ययनपछि मात्र थाहा हुने उनले बताए ।  यो आयोजना सडक विभाग अन्तर्गतको मलेखु-मुग्लिन सडक आयोजनाले हेरिरहेको छ । अहिले तत्कालका लागि बाटो खुलाउने कामलाई प्राथमिकता दिइएको र थप नयाँ ठूला योजनाहरूका बारेमा अध्ययनकै चरणमा रहेको मन्त्रालयले जनाएको छ । बाढीले क्षति पुगेका पुल र सडकहरुको पुनःनिर्माण केही दिनमै अगाडि बढ्ने मन्त्रालयको भनाइ छ । बाढीले ४१ पुल र ४० किलोमिटर सडकमा क्षति पुगेको थियो । अहिले बाढीबाट ध्वस्त सडकमध्ये विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटर सडकको पुनःनिर्माण  भइरहेको सडक विभागले जनाएको छ ।  विभागले बाँकी पुनःनिर्माण  काम विस्तारै अघि बढ्ने बताएको छ । अहिले पृथ्वी राजमार्ग सुनसान छ भने अहिले कान्तिपथ राजमार्गमा चाप छ ।

ग्यासको चरम अभाव, कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो । भोटेकोशी बाढीअघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारले ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन् । ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् । कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहेका व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार माग अत्यधिक भए पनि दैनिक करिब १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ । उनले भने, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ ।’ उनले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिए । ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जडीबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गरे । सोमबार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको उनले बताए । उनले भने, ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु। चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ ।’ उपभोक्ताहरूका अनुसार बजारमा ग्यासको अभाव व्यापक छ र स्थानीय डिपोहरूमा ग्यास पुग्न सकेको छैन । ‘सम्बद्ध निकायले ग्यास पठाइरहेको बताए पनि डिपोहरूमा ग्यास आइपुगेको छैन । डिपोमै ग्यास नभएपछि हामीले दुःख पाउनु स्वाभाविक हो,’ अर्का एक उपभोक्ताले आक्रोश व्यक्त गरे । रसुवामा आएको बाढीअघि नै सुरु भएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइका कारण थप जटिल बनेको हो । आपूर्ति सहज नहुँदा र मागअनुसारको सिलिण्डर उपलब्ध हुन नसक्दा सर्वसाधारणहरूले दैनिक काम छाडेर ग्यासको खोजीमा भौँतारिनुपरेको छ ।

डल्ले खुर्सानीमा भेटियो विषादी

काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा बिक्रिका लागि राखिएको डल्ले खुर्सानीमा विषादी भेटिएको छ ।  मकवानपुरको इन्द सरोवरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा ४०.५९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १० थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये डल्ले खुर्सानीमा विषादीको मात्रा रहेको फेला परेकाले केही राखेर पर्खनुपर्ने बताएको छ । अर्गानोफस्फेट’ विषादी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । यसले मष्तिष्क, स्नायु प्रणाली र पेटसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ ।